Logo

सीता उत्पत्ति दिवस ‘जयन्ती’ मनाइयो



काठमाडौँ, २० वैशाख : राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस ‘जयन्ती’ आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं उहाँका सत्कर्मको सम्झना गरी मनाइएको छ । त्रेता युगमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको प्रसङ्ग रामायणलगायत पुराण एवं धर्मग्रन्थमा वर्णन गरिएको छ ।

भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि भगवती लक्ष्मी सीताका रुपमा उत्पत्ति हुनुभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदासँगै जानुभएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सीताको सम्झना गरिन्छ ।

अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव र कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाई अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । अयोध्यामा आएका लव, कुशले रामायणको कथा सुनाई सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो ।

दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताका विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप हुनुभएको थियो । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उहाँ धर्तीको कोखमा लुप्त हुनुभएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति हुनुभएकी सीता माटोमै लुप्त हुनुभएको थियो ।

सीता उत्पत्ति हुनुभएको भए पनि आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरे पनि यस वर्ष बन्दाबन्दीका कारण प्रभावित भएको छ । विशेष पूजा भने गरिएको छ । सीताबाट आम मानिसले शिक्षा लिन सक्ने भएकाले विभूतिका रुपमा घोषणा गरिएको हो ।रासस



प्रतिक्रिया दिनुहोस्