Logo

एक सय ३५ फिट अग्लो कलश निर्माणको काम धमाधम हुँदै



बलेवा, २२ वैशाख : लकडाउनका कारण विकासे आयोजनाको काम ठप्प रहेका बेला यहाँको एक धार्मिक संस्थाले भने पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको कामलाई तीव्र पारिएको छ ।

बागलुङ नगरपालिका–६ पञ्चकोटमा निर्माणाधीन विश्वकै अग्लो विश्वशान्ति कलश फाउण्डेशनको काम तीव्र पारिएको हो । लकडाउनका कारण यहाँका मजदुरलाई रोकिनुपरेको छैन । सामाजिक दूरी कायम गर्दै पञ्चकोटमा पूर्वाधार निर्माणको काम चलेको छ । पञ्चकोटमा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको अगुवाइमा स्थापित ‘अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रस्ट’ ले विश्व शान्ति कलश, मुक्तिनाथ महाघण्टलगायतका पूर्वाधार निर्माणको काम गरिरहेको छ । गत माघ महिनामै दक्षिण भारतका मजदुर ल्याएकाले हाल कलशको फाउण्डेशन निर्माण भइरहेको स्वामी कमलनयनाचार्यले बताउनुभयो ।

छ वर्षअघिदेखि सहायक पूर्वाधार निर्माण भइरहेको पञ्चकोटमा चैतबाट मुख्य कलश निर्माणको काम शुरु भएको हो । धार्मिक पर्यटकीय गन्तव्य विकास गर्ने उद्देश्यले बानपा–६ सर्वसिद्धि धाम पञ्चकोटमा कलश र मुक्तिनाथ महाघण्ट बनाउन लागिएको उहाँले बताउनुभयो ।

पञ्चकोटलाई ‘विश्वशान्ति सर्वसिद्धिकोट जयश्री मुक्तिनाथ धामस्थल’ विकास गर्न ६ वर्ष पहिलेदेखि भौतिक संरचना निर्माणको काम भइरहेको छ । १३५ फिट अग्लो कलश निर्माणका लागि १२ मिटर गहिराइको २४ वटा पिल्लरमध्ये १८ वटा पिल्लरको काम सकिएको सर्वसिद्धिधाम पञ्चकोटका कार्यालय सचिव रामबहादुर केसीले बताउनुभयो । एक सय ७५ रोपनी क्षेत्रफलमा बनाउन लागिएको उक्त धार्मिकस्थलको विकास निर्माणका लागि रु दुई अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । कलश निर्माणमा मात्रै रु ३२ करोड लागत लाग्ने जनाइएको छ । उक्त स्थलमा पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट पनि बन्नेछ ।

आकर्षक धार्मिक मठमन्दिर निर्माण गरेर हिन्दू र बौद्ध धर्मको गन्तव्य बनाउन लागिएको पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । कलश निर्माणसहित पञ्चकोटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम अघि बढाएको छ  । हाल विभिन्न संरचना निर्माणाधीन रहेको पञ्चकोटमा करिब रु १६ करोड लगानी भइसकेको छ । हालसम्म गरुड शिला, गण्डकी माताको मन्दिर, सिसमहल, अन्य देवदेवीका मन्दिर र हनुमानको मूर्ति स्थापना भइसकेका छन् । पाँच हजार ५५५ केजीको घण्टा स्थापनाको तयारी छ । त्यस्तै, सत्तल र धर्मशालाको भवनसमेत निर्माण गरिएको छ । तामाको कलश बनाइने भएकाले खर्चिलो हुने समितिले जनाएको छ । सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा दाताबाट दान सहयोग जुटाएर काम भइरहेको छ ।

पञ्चकोटमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । यहाँ दैनिक ५०० देखि हजारजनासम्म घुम्न आउने गरेको भए पनि देशमा कोरोनाका कारण पर्यटक आगमन ठप्प भएको छ । बागलुङ नगरपालिकाका ताराजालकोट, राङ्राङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माण गरेर पञ्चकोट धार्मिक गन्तव्य बनाउने बृहत् गुरुयोजना शुरु भएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्