लहान, बैशाख २२ सिराहमा प्रहरी र स्थानियको झडपको क्रममा प्रहरी नायव उपरिक्षकसहित पाँच जना प्रहरी र केही स्थानीयसमेत घाइते भएका छन् ।
जिल्लास्थित मिर्चेया नगरपालिका वडा नम्बर–७ मा राहत वितरणका लागि वडा कार्यालयले तयार पारेको लिस्टमा आफूहरुको नाम छुटाइएको भन्दै करिब तीन सय स्थानीय असन्तुष्टि जनाउँदै प्रर्दशनमा उत्रिएका थिए । प्रहरीका अनुसार असन्तुष्टि सम्बोधन नगरी राहत वितरण सुरु गरेपछि उनीहरु विरोधमा उत्रेका थिए । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरी राहत वितरण कार्य बिथोल्न पुगेको भिडलाई तितरबितर गरेको थियो ।
विरोधमा उत्रेकाहरुले राहतको सूचीमा हुनेखानेको नाम समावेश गरेर असली पीडितलाई किनारा गरेको आरोप लगाउँदै नाराबाजी गरेका थिए ।