Logo

सीमामा पाँच सय बिओपी राख्न गृहमन्त्री थापाको निर्देशन, सशस्त्रमा ९ हजार दरबन्दी थप्न सशस्त्रको प्रस्ताव



काठमाडौं, २२ बैशाख । भारतसँगको सीमा सरकारले स्थायी रुपमै प्रहरी थप्ने तयारी थालेको छ । गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय र्पुयाउने तयारी थालेको हो ।

गृहमन्त्री रामबहादुर थापा’बादल’ले दिएको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले सो सम्बन्धि खाका तयार पारि आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेको हो । हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी रहेको छ ।

नेपालतर्फको सिमानाकामा भारतको ५३० बिओपी रहेकोमा नेपालले पनि सोहि अनुपातमा बिओपी थप्ने तयारी गरेको हो । प्रस्ताव अनुसार सो संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ । हाल सरदर १५ किलोमिटरको दुरिमा रहेको बिओेपी त्यसपछि ३.५ किलोमिटर सिमामा रहनेछ । बिओपी थप सम्बन्धि गृहमन्त्रालयको छलफलमा गृहमन्त्री थापाले सिमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बिओेपी थप सम्बन्धि प्रस्ताव आफुले मन्त्रीपरिषदमा लैजाने बताउनुभयो । बादलले सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको भन्दै बिओेपी रहने स्थान, आवश्यक पुर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिएका छन् ।

शान्त, समृद्ध र स्वाधीन नेपालकालागि सिमा व्यवस्थापन अनिवार्य शर्त रहेको बताउँदै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताए । तत्कालै वा चरणवद्ध रुपमा पाँच सय स्थानमै बिओेपी स्थापना प्रक्रिया अगाडि बढाईने उनको प्रतिबद्धता थियो । अहिले जटिल परिस्थितिमा सिमित , स्रोत र साधनका बाबजुद सिमामा कोरोना नियन्त्रणका लागि सुरक्षानिकायले खेलेको भूमिका प्रशंसनीय रहेको बादलको भनाई थियो ।

गृहसचिव महेश्वर न्यौपानेले सिमाको विषय संवेदनशील विषय भएकोले सिमाबाट हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागि समेत बिओेपी बढाउनुको विकल्प नरहेको बताए । भन्सारको १११ ठाउँमा रहेको जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

यसअघि बिओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सिमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सिमामा थपिएको हो । गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सिमामा पठाउन निर्देशन दिएसँगै अहिले ठुलो संख्यामा सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सिमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पोस्ट बिस्तार गरिएको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरीले दरबन्दी थप्न प्रस्ताव गरेपनि अहिले कोरोनाको कारण आर्थिक संकट निम्तिने भएकाले दरबन्दी थपको सम्भावना भने नरहेको स्रोत बताउँछ ।

आइतबार गृह मन्त्रालयले कारागार तथा विकास निर्माणसम्बन्धि कार्यालयमा कार्यरत सशस्त्र प्रहरीलाई सीमामा खटाएर त्यहाँ सेनालाई जिम्मेवारी दिने निर्णय गरेको थियो । दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्