Logo

जमातीका कारण समुदायमा फैलियो कोरोना भाइरस



काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमण समुदायसम्म फैलन थालेको छ । नेपालगञ्ज ८ को टोलमा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि समुदायसम्म फैलन थालेको देखिएको हो ।

१९ वैशाखमा एकजना कोरोना भाइरसका संक्रमित पत्ता लागे । ६० वर्षीय ती धर्मगुरुमा संक्रमण भेटिएपछि उनको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण हुनथाल्यो । ती धर्मगुरु भारतको निजामुद्दीनस्थित तब्लिगी जमातका सदस्य भएको पत्ता लागेपछि धमाधम खोजी हुनथाल्यो । ती जमाती पुगेको महेन्द्र पार्क नजिकै जोलहनपुर्वाको मस्जिद, मदरसाका विद्यार्थी समेत कोरोना संक्रमित भएका हुन् । ती जमाती धर्मगुरु धार्मिक गतिविधिमा संलग्न रहेको पत्ता लागेको छ ।

२१ वैशाखको दिउँसो नेपालगञ्जको एउटै टोलका ९ जना संक्रमित भेटिएकोमा साँझ थप ६ जना भेटिए । धमाधम संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गरिएकोमा ७ जना २३ वैशाखमा थपिएका छन् । हालसम्म जमातीको सम्पर्कमा आएकामा नेपालगञ्जको एकै टोलका २२ जनामा संक्रमण भेटिइसकेको छ ।

हिजोबाट नेपालगञ्जमा लकडाउन कडाई गरिएको छ । त्यहाँ निषेधित क्षेत्र घोषणा गरिएको छ ।

नेपालभर हालसम्म पत्ता लागेका ८२ संक्रमितमध्ये ६३ जना मुसलमान समुदायका छन् । नेपालको कुल जनसंख्यामा ४ प्रतिशत मुसलमान समुदाय छन् । तर, कोरोना भाइरसको संक्रमितको संख्या र अनुपातको तुलना गर्ने हो मुसलमान समुदाय कोरोना भाइरसको उच्च जोखिममा देखिएका छन् ।

वीरगञ्जको छपकैयास्थित मस्जिदमा भेटिएका जमाती

कोरोना भाइरसको संक्रमितमध्ये दिल्ली निजामुद्दीनको मर्कस जमातको कनेक्सन नेपालसम्म देखिएको छ । जमातीहरु लकडाउन अघि र पछि नेपाल छिरेको तथ्य भेटिइसकेको छ । भारतमा पनि कोरोना महामारी फैलनुको मुख्य कारक जमाती भनी सञ्चारमाध्यमले तथ्यांक सहित उल्लेख गरिरहेका छन् ।

वीरगञ्जको छपकैयास्थित मस्जिद र उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा कोरोना भाइरसको संक्रमणको कारक जमाती भएको खुलिसकेको छ । सबैभन्दा बढी संक्रमण उदयपुरमा फैलिएको छ । त्यहाँ ३० जनाभन्दा बढी संक्रमित भेटिइसकेका छन् । अहिले नेपालगञ्जमा पनि फैलन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्