Logo

‘ओली नेकपाको होइन गुटको मात्रै अध्यक्ष, गणतन्त्र सुहाउने नेता नभएको’ अष्टलक्ष्मीको टिप्पणी



काठमाडौं, बैशाख २३ । नेपाल कम्युनिष्ट पार्टीकी प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रलाई सुहाउने नेता नभएको टिप्पणी गरेकी छन्। प्रधानमन्त्री ओली अत्यन्त संकिर्ण सोँचको, सानो गुटमा रमाउने र आलोचना सहन नसक्ने भएकाले गणतन्त्रका लागि सुहाउने नेता नभएको उनको तर्क छ ।

नेपाली रेडियो नेटवर्कसंगको अन्र्तवार्तामा पत्रकार ऋषि धमलासंग बोल्दै उनले भनिन, ‘आलोचनालाई सहन नसक्ने लोकतान्त्रीक नेता हुनै सक्दैन र त्यस्ता नेता गणतन्त्रलाई सुहाउदैन ।’ प्रधानमन्त्री ओली अलोकतान्त्रीक रहेको पछिल्लो दुई अध्यादेशले पनि पुष्टि गरेको शाक्यको भनाई छ ।

संवैधानिक परिषद्लाई एकलौटी गराउने र दल विभाजन गर्न सजिलो बनाउने अध्यादेश अलोकतान्त्रीक र देशलाई अस्थीरतामा लैजाने सोँचबाट प्रेरित भएको समेत उनले दाबी गरिन्। सर्वत्र आलोचनापछि ओलीले अध्यादेश फिर्ता लिएपनि समिक्षा नसकिएको बताउदै उनले स्थायी कमिटिको बैठकमा मज्जाले छलफल हुने जानकारी दिएकी छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपमा नचाहिने काम धेरै गरेकाले स्थायी कमिटिमा एक एक छलफल हुने शाक्यको भनाई छ । पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधि सभाको सदस्य बनाउने विषय अहिले कुबेलाको कुरा भएको टिप्पणी गर्दै उनले गौतमलाई अहिले सांसद बनाउन संभव नभएकाले स्थायी समितिले त्यस्तो अपरिपक्व निर्णय नगर्ने विश्वास व्यक्त गरिन् ।

अध्यक्ष ओली सवैको अध्यक्ष हुन नसकेको आरोप लगाउदै उनले गुटको मात्रै नेता हुने गरेको र सिंगै पार्टीको बारेमा कहिल्यै नसोचेको बताईन् । प्रदेश तीनको मुख्यमन्त्री निर्वाचित गर्ने बेलामा आफुमाथी पुर्वाग्रह राखेर अन्याय र धोका भएको भन्दै उनले सांसदहरुलाई थुन्ने र आफ्ना समर्थकहरुलाई धम्की दिने गरिएको स्मरण समेत गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्