Logo

पार्टीभित्र केपी ओलीको विकल्प खोज्ने सार्मथ्य कसैको पनि छैन्, बाहिर कराएर हुँदैन् : मुख्यमन्त्री शेरधन राई



काठमाडौं, २३ बैशाख । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नरहेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । त्यस्तै, उनले तत्काल पार्टीमा एक व्यक्ति, एक पद पनि लागु नहुने जिकिर गरे । झन प्रधानमन्त्री ओलीको हकमा त यो लागु हुनै नसक्ने उनको भनाई छ ।

उनले भने-“प्रधानमन्त्री ओलीको हकमा एक व्यक्ति एक पद लागु हुँदैन् । कसैले पनि केही गर्न सक्दैन् । प्रधानमन्त्री सफल नेता हो । उहाँकै कारण नेकपाले बहुमत ल्याएको हो । उहाँकै कारण आज देशमा ६ वटै प्रदेशमा नेकपाको सरकार गठन भएको हो । उनले यही बैशाख २५ गते बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको विकल्प खोज्न नसक्ने दाबी गरे । उनले भने, उहाँको विकल्प खोज्ने सार्मथ्य कसैको छैन् । यो असम्भव कुरा हो । बाहिर सडकमा कराएर केही पनि हुँदैन् ।”

त्यस्तै, मुख्यमन्त्रीहरु परिवर्तन हुने हल्लाबारे सोधिएको प्रश्नमा त्यसमा पनि कुनै सत्यता नभएको स्पष्ट पारे । उनले भनेका छन्,”मुख्यमन्त्री भनेको त्यसै बनेको होईन् । म संसदीय दलको निर्वाचन जितेर बनेको हो । त्यसैले कसैले भन्दैमा यो पद साटासाटा हुँदैन् । कसैले चाहेर हटाउने कुरा होईन् । भागबण्डामा मिलाउने कुरा पनि होईन् ।”

आफू र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल हटाएर भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको जिम्मेवारी दिने हल्लामा पनि कुनै सत्यता नभएको राईले जिकिर गरे । उनले भने,”उहाँहरु दुवै जना संसदीय दलमा चुनाव हारेको मान्छे हो । कसरी बन्नुहुन्छ ? मुख्यन्त्रीलाई पनि प्रधानमन्त्रीजस्तै ५ वर्षको म्याण्डेट छ ।” मुख्यमन्त्री राईले प्रदेश एकमा कोरोना नियन्त्रण हुने विश्वास दिलाए । उनले भने,हामी अत्यन्तै सचेतनासहित अघि बढेका छौं । भारतसँग सीमा आवातजावात कडाई हुन्छ । हाम्रो प्रदेशमा कोरोनाको जोखिम नियन्त्रणमा आईस्क्यो ।

उनले आफ्नो विवाहबारे प्रधानमन्त्री ओलीले पनि चासो राखेको सुनाउँदै कोरोनाको संक्रमण हट्नेबित्तिकै विवाह गर्ने तयारी सुनाए । उनले भने,”मेरो विवाहको कुराबारे प्रमले पनि चासो राख्नुभयो । कोरोनाको संक्रमण हटेपछि विवाह गर्छु भनेको छु । अहिले कोरोनाको संक्रमण नआएको भए विवाह हुन्थ्यो, त्यही कारणले पर सरेको छ । उनले आफूसँग प्रेम गर्ने समय नभएकोले मागी विवाह गर्ने पनि जनाए । उनले भने, सम्माननीय प्रधानमन्त्रीज्यूले पनि बालुवाटार आउँदा कहिले जोडी लिएर आउनुहुन्छ भन्नुभएको छ, म छिट्टै विहे गर्छु, र श्रीमतीसहित बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न जान्छु ।”



प्रतिक्रिया दिनुहोस्