Logo

६६ हजार बढीको नमुना परीक्षण सम्पन्न, १८ स्थानबाट पीसीआर परीक्षण शुरु : स्वास्थ्य मन्त्रालय



काठमाडौँ, २३ वैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब ६६ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको छ। मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षणबाट सो बराबरको नमुना परीक्षण भएको जानकारी गराएका हुन्।

उनका अनुसार आरडिटी विधिबाट ५२ हजार २२७ र पीसीआर विधिबाट १३ हजार ८५० गरी कुल ६६ हजार ७७ वटा नमुना परीक्षणहरु सम्पन्न भएका छन्।

मन्त्रालयको तथ्यांक अनुसार आरडिटी विधिबार प्रदेश १ मा ६ हजार १२२, प्रदेश २ मा ५ हजार ७७८, बाग्मती प्रदेशमा ८ हजार ९४०, गण्डकी प्रदेशमा ६ हजार ७४, प्रदेश ५ मा ५ हजार १८३, कर्णाली प्रदेशमा ५ हजार ८७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २४४ वटा नमुना परीक्षण सम्पन्न भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५८२ वटा परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ। देशभरको सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ भने १८ स्थानबाट पीसीआर परीक्षण भइरहेको छ। हिजो आइतबारबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट पीसीआर परीक्षण थालिएको मन्त्रालयले जनाएको छ।

हाल २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यका भित्र २ र उपत्यका बाहिर ११८ जना गरी १२० जना आईसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ।

कुन प्रदेशमा कति संक्रमित?

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा हाल ८२ जनामा कोरोना संक्रमण भेटिएको छ। त्यसमध्ये आज मात्रै बाँकेको नेपालगञ्जमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये प्रदेश १ मा ३१ जना, प्रदेश २ मा १३, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ। हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन्।

जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ६६ जनाको विभिन्न हस्पिटलमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।मेरोलगानी File Photo



प्रतिक्रिया दिनुहोस्