Logo

कोरोना भाइरस समुदायमा पस्यो-कुमारबहादुर खड्का, प्रजिअ बाँके



काठमाडौं, २३ वैशाख । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको व्यस्तता बढेको छ । जिल्लामा २३ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि उनी लकडाउन कडाई गर्न सक्रिय भएका छन् । उनीसँग यसै सेरोफेरोमा खड्कासँग रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीः
बाँकेको अवस्था कस्तो छ ?
यहाँ १६ जना संक्रमित भेटिएपछि तीनका परिवार आसपमा मान्छेहरुको परीक्षण काम भइरहेको छ । अन्यमा संक्रमण नफैलियोस भनेर नेपालगन्ज उपमहानगर क्षेत्रभित्र २५ गतेसम्मका लागि कोही पनि व्यक्ति घरबाहिर निस्किन नपाउनेगरी निषेधित क्षेत्र घोषणा गरेका छौं ।
अनि अत्यावश्यक सामाग्रीको लागि सवारी चल्छ कि चल्दैन ?
त्यसको व्यवस्थापन हिजो पनि भएको थियो । आज, भोलि पनि हुन्छ । हामीले चाहीं लकडाउनले मात्रै अवस्था नसुध्रिएकाले निषेधित क्षेत्र घोषणा गर्नुपरेको हो ।
संक्रमण व्यक्तिबाट समुदायमा गइसकेको छ, त्यसलाई निषेधाज्ञाले कम हुन्छ ?
यहाँ जुन संक्रमित ठाउँमा आवतजावतलाई लकडाउनले मात्रै थेग्न सकेन । जबसम्म लकडाउन भनेको मेरो, परिवारको र समुदायकै हितको लागि गरिएको हो भन्ने सात्मासात नहुन्जेलसम्म प्रभावकारी भएन । चेकिङलाई प्रभावकारी बनाउनुपर्ने, ट्रयाकिङको काम गर्नुपर्ने र जोखिमलाई पनि न्यूनिकरण गर्नुपर्ने भएकाले निषेधित क्षेत्र घोषणा गरेका हौं । यसले चेकिङ गर्न, संक्रमितलाई उपचार गर्न र रोकथाममा प्रभावकारी भूमिका खेल्छ भन्ने लाग्छ ।
संक्रमितहरुको तीन सयभन्दा बढी व्यक्तिसँग भेटघाट भएको हो ?
ती तीन सय व्यक्तिहरुको लगभग परीक्षण भइसकेको छ । अरु थप चेकिङ गर्दै छौं ।
त्यसोभए संख्या बढ्न पनि सक्छ ?
बढ्न सक्छ ।
त्यहाँ कोरोना संक्रमण कसरी एक्कासी बढ्यो ?
हामीले तेस्रो मुलुक अथवा भारतका नाकाबाट आउने सबै नागरिकलाई क्वारेन्टाइनमा राखेका थियौं । यतिहँुदाहुँदै पनि जो लुकीछिपी बाहिरबाट आएको अवस्था छ । यहाँ त्यस्ता व्यक्तिहरु लुकीछिपी बसेको सूचना पनि पाइएको छ । हामीले केही अगाडि विभिन्न मठ, मन्दिर, चर्चहरु पनि अनुगमन गरेका थियौं । त्यही क्रममा संक्रमितहरु भेटिए । उहाँहरुलाई चेकिङ गर्दा १ जनाको पोजेटिभ देखियो । फेरि उहाँको सम्पर्कमा ९० जना देखिनुभयो । ती नम्बे जनाको चेकिङ गर्दा ९ जना संक्रमित देखिनुभयो । त्यसपछि अर्को ३० जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिनुभयो । अरु त बाँकी नै छ ।
संक्रमितहरु बढेको बढ्यै छन्, स्वास्थ्य सामाग्रीहरु पर्याप्त छ कि छैन ?
हिजो अलिकति किट आइपुगेको छ । केन्द्र र प्रदेश सरकारले पनि सहयोग दिने भएका छन् । केन्द्रबाट स्वास्थ्य टोली पनि आइसकेको छ । माननीय मुख्यमन्त्रीज्यूलगायत सबै मन्त्रालयमा पनि कुरा भएको छ । उहाँहरुले यहाँ कुनै पनि स्वास्थ्य सामाग्री अभाव हुननदिने प्रतिवद्धता गर्नुभएको छ ।
बाँकेबाट कर्णालीतिर मान्छेको आवागमन भएको छ नि छैन ?
अहिले त झन् सिल भएपछि प्रवेश गर्ने कुरै भएन । पहिला पनि यहाँबाट कर्णाली प्रदेशमा कुनै व्यक्ति गएको छैन । झन् अहिले निषेधित क्षेत्र घोषणा गरेपछि कुनै नेपालगन्ज छिर्न पनि पाउँदैन, बाहिर जान पनि पाउँदैन ।
बाँके त कर्णाली प्रदेशको प्रवेशद्वार पनि हो नि ?
कर्णालीलगायत अन्य धेरै जिल्लाको प्रवेशद्वर भएकाले पनि बाँकी जिल्लालाई सम्वेदनशील भनेका छौं । यहाँ परीक्षणको दायरा पनि बढाउँछौं ।
यदि संक्रमण ह्वात्तै बढ्यो अस्पतालको व्यवस्था छ ?
हामीले सुशील कोइराला क्यान्सर अस्पताललाई कोरोना अस्पताल बनाइसकेका छौं । किटहरु पनि उपलब्ध भइसकेको छ । त्यसकारण उपचारमा कुनै समस्या छैन ।
लकडाउन बढाउनुपर्ने सम्भावना बढ्यो होइन ?
जरुर बढ्यो । नेपालगन्जमा लकडाउन नबढाई हुँदैन । हामीले नेपालगन्जमा लकडाउन कायमै छ भनेर सूचना नै लेखेका छौं ।



प्रतिक्रिया दिनुहोस्