वैशाख २३, काठमाण्डौ । कोरोना संक्रमितहरु देशका विभिन्न स्थानमा तिब्र गतिमा पहिचान भैरहँदा प्रदेश पाँचको बाँके जिल्लामा निक्कै ढिला गरेर करिब एक साता अघि मात्रै कोभिड–१९ रोकथाम तथा नियन्त्रण अप्रेशन टिम बन्यो । क्वारेन्टाइनमा बसेका आशंकित ब्यक्तीसँगै धर्मीक गुरु तथा अगुवाहरुको सम्वन्धीत ठाउँमै गएर स्वाव संकलन र परिक्षण गर्ने रणनीति अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ मा गत शुक्रबार एक जना कोरोना संक्रमित पहिचान भए ।
तर ती व्यक्तिमा कोरोना पहिचान हुँन निक्कै ढिला भैसकेको थियो । अर्थात, तीनै संक्रमित व्यक्तिसँग भेटघाट र संगत गरेका कारण सोमबार वडा नम्बर ८ का ७ जना र आईतबार १५ जनाले कोरोना संक्रमित हुनुपर्यो । संक्रमण के कसरी फैलियो र श्रोत के हो एकिन नभएपनि नमुना परीक्षण गर्न ढिलो हुँदा एक्कासि धेरै सङ्क्रमित देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँके आफै स्विकार गरिरहेको छ । अझ, भेरी अस्पतालमा जडान गरिएको पीसीआर उपकरणलाई पुर्ण रुपमा सञ्चालनमा ल्याउन प्रदेश सरकारले नसकिरहँदा जिल्ला स्वास्थ्य कार्यालय परिक्षणको दायरा थप बढाउनुपर्ने बताइरहेको छ ।
हुन त प्रदेश पाँच सरकार अझ भनौँ मुख्यमन्त्री शंकर पोखरेल प्रदेशको काममा भन्दा पाटीको काममा बढी ब्यस्त हुँदै आएको आरोप निक्कै अघिदेखी लाग्दै आएको थियो । कोरोना रोकथामको हकमा समेत ठिक यस्तै देखियो । प्रदेशमा कोरोनाको जोखिम बढ्दैगर्दा उनै पोखरेल बरु मुख्यमन्त्री पद छाड्न तयार छु भन्दै काठमाडौंमा पार्टीगत काम अर्थात राजनीतिक भेटवार्तामा ब्यस्त भए ।
उनी पार्टीलाई विग्रहको बाटोबाट बचाएर सहमतिको बाटोमा लैजान हस्तक्षेपकारी भूमिका निर्वाह गर्न काठमाडौं आएको बताइदै गर्दा प्रदेशबाट कोरोनाको जोखिम क्षेत्र अर्थात इपीसेन्टर जस्तै बनेको छ । प्रदेश सरकार सञ्चालन र कोरोना रोकथाम प्रभावकारी नभएपछि बाँके क्षेत्रका सांसद मुख्यमन्त्री पोखरेलको कार्यशैलीप्रति नै सशंकित हुन थालेका छन् ।
नेकपामा देखिएको अन्तरकलह र खटपट केही साम्य भएपछि अर्थात आईबार मात्रै मुख्यमन्त्री पोखरेल प्रदेश फर्किएका छन् । प्रदेश सरकार सञ्चालनमा प्रभावकारी भुमिका खेल्न नसकेको आरोप झेल्दैआएका उनले प्रदेशमा समुदायस्तरमा फैलिएको कोरोना रोकथाममा कस्तो भुमिका खेल्छन् ? सांसदसँगै प्रदेशवासी यसैको प्रतिक्षा गरिरहेका छन् ।