Logo

बैंक अफ काठमाण्डूको नाफा घट्यो, यस्तो छ कारण



काठमाडौँ २४ वैशाख : बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ।

बैंकले चालु आवको चैत मसान्तसम्ममा ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ३३ करोड ११ लाख ८९ हजार रुपैयाँ कम हो। गत आवको चैत मसान्तसम्ममा बैंकले १ अर्ब २० करोड खुद नाफा कमाएको थियो।

कोभिड १९ का कारण अर्थतन्त्रका विभिन्न क्षेत्रमा नराम्रो असर परेपछि सम्भावित जोखिमलाई ध्यानमा राखी इम्पेरिमेन्ट चार्जबापत उल्लेख्य छुट्याएको बैंकले बताएको छ। जसका कारण खुद नाफा घट्न पुगेको हो। गत आवको चैत मसान्तसम्ममा २४ करोड ९५ लाख ८ हजार रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज चालु आवको सोही अवधिसम्ममा बढेर ८० करोड ६५ लाख ५० हजार पुगेको छ। यद्यपि, बैंकको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा २.१२ प्रतिशतबाट घटेर १.५३ प्रतिशतमा सीमित भएको छ।

८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब २० करोड ७३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग ८ करोड ५९ लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ८९ अर्ब ७७ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबापत बैंकले २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १४ करोड ३४ लाख रुपैयाँ बढी हो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ४७ करोड ५२ लाख रुपैयाँ घटेर १ अर्ब २३ करोड ५३ लाखमा सीमित भएको छ।

बैंकको वितरण योग्य मुनाफा ९ करोड ८ लाख ८३ हजार रुपैयाँ ऋणात्मक रहेको छ। त्यसैगरी, बैंकको प्रतिशेयर आम्दानी १३.६३ रुपैयाँ, प्रतिशेयर खुद सम्पत्ती मूल्य १५९ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.९९ गुणा रहेको छ। मेरोलगानी File Photo



प्रतिक्रिया दिनुहोस्