काठमाडौं, २४ वैशाख । धारिलो हतियार प्रहार तथा कुटपिट गरी घाइते बनाएको अभियोगमा एकजनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई खुकुरीले प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिकाका बिजय तामाङ पक्राउ परेका हुन् । सोही ठाउँ भृकुटी पाखास्थित खाली डाँडामा विद्युत मर्मत पेशा गर्ने उनीहरुबीच मोबाईलको बिषयमा बिवाद हुँदा बिजयले २ जनालाई खुकुरीले प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बिजयलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएका एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा र अर्को एक जनाको बिजयपुर अस्पताल धरान सुनसरीमा उपचार भइरहेको छ ।
रामेछापमा काठले टाउकोमा प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोगमा गोकुलगंगा गाउँपालिकाका जित बहादुर खड्कालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने पुरुषलाई काठ प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बेतालीबाट खटिएको प्रहरीले खड्कालाई पक्राउ गरेको हो । घाइतेलाई सामुदायिक अस्पताल मन्थली हुँदै थप उपचारको लागि मेडिसिटी अस्पताल काठमाडौंतर्फ ल्याएको छ ।
रामेछापमा नै छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा दोरम्बा गाउँपालिका सुजन तिमल्सिनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । समाजमा आफ्नी चेलीबेटीलाई नराम्रो भन्दै हिँडेको भनी सोही ठाउँका पुरुषलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गुन्सीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि काठमाडौंतर्फ ल्याएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।