Logo

कोरोनाका कारण दक्षिण अमेरिकामा १५ हजार भन्दा बढीको मृत्यु, दुई लाख भन्दा बढी संक्रमित



दक्षिण अमेरिका र क्यारेबियन मुलुकहरुमा कोरोनाभाइरसबाट बुधबार बिहानसम्ममा १५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

आधिकारिक विवरणहरुमा यस क्षेत्रमा २ लाख ८२ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।दक्षिण अमेरिकामा सबैभन्दा बढी व्यक्ति ब्राजिलमा ७ हजार ९२१ जनाको ज्यान गएको छ भने १ लाख १४ हजार ७१५ जना संक्रमित भएका छन् । यस्तै, मेक्सिकोमा २ हजार २७१ जना तथा इक्वेडरमा १ हजार ५६९ जनाको ज्यान गएको छ ।

विज्ञहरुका अनुसार आउँदा दिनहरुमा दक्षिण अमेरिकामा महामारी अरु बढ्नेछ ।इक्वेडर, कोलम्बिया र डोमिनिकन रिपब्लिक लगायतका धेरै देशहरूले भाइरस फैलिनबाट रोक्न आफ्नो लकडाउनका उपायहरू अबलम्बन गरिरहेका छन् ।

प्यान–अमेरिकन हेल्थ अर्गनाइजेसन (पीएएचओ) ले प्रतिबन्धहरु खुकुलो बनाउनेक्रममा यस क्षेत्रका सरकारहरु बढी नै सजग हुनुपर्ने बताएको छ । अर्गनाइजेसनले खासगरी ब्राजिल, इक्वेडर, पेरू, चिली र मेक्सिकोमा भाइरस सर्न सक्ने खतरा “धेरै उच्च” रहेको चेतावनी दिएको छ ।

ब्राजिल यस क्षेत्रको पहिलो देश हो जहाँ कोरोनाभाइरस पहिलो पटक फेब्रुअरी २६ मा देखिएको थियो । कोरोना महामारीबाट सर्वाधिक प्रभाव परेको इटालीको लोम्बार्डी भ्रमण गरेका एक ६१ वर्षीय व्यक्तिमा कोरोना भेटिएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोनाभाइस संकटकै कारण दक्षिण अमेरिकाको कुल गार्हस्थ्य उत्पादनमा ५.२ प्रतिशतले संकुचन हुने जनाएको छ ।

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ३७ लाखभन्दा बढी संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस्