Logo

प्रदूषण घटेसँगै सुन्दर बन्यो कान्तिपुर



काठमाडौंँ, २५ वैशाख । कोरोना भाइरसले बन्दाबन्दी (लकडाउन)का कारण मानवीय चहलपहल नहुँदा अहिले काठमाडौँको वातावरण अत्यन्तै स्वच्छ, सफा र हरियालीले भरिएको छ । फूलहरू फुलेका छन् ।

वर्षात् अनि न जाडो न गर्मी ठिक्कको मौसमले प्रकृति मख्ख परेकी छन् । हरियालीका बीचमा सफा सडकले कान्तिपुरी नगरी मुस्काइरहेकी छन् । चोकमा पुग्नेहरू भन्छन्, “यति बेला सहर सफा र स्निग्ध छ, कतिपयले सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्छन् । कविता फुराउँछन् । ” हुन पनि सडक छेउका ठूलासाना रुखमा थरीथरीका रङ्गीचङ्गी फूल ढकमक्कै फुलिरहेका छन् । जाकरान्डा फूलको त राजधानीका सडकमा साम्राज्य नै छ । लाखौँ सवारी साधनबाट आउने कोलाहल र प्रदूषण बन्दाबन्दीले विराम लाग्दा वातावरण सफा भएको जानकारहरूको भनाइ छ ।

प्रदूषण नहुँदा देखिएको काठमाडौँको यस्तै प्राकृतिक सौन्दर्य कायम गरिनुपर्ने पनि कतिपयको मत छ । हिजोआज काठमाडौँको प्राकृतिक सुन्दरता मनै लोभ्याउने खालको भएको प्रो. डा. प्रमोदकुमार झा बताउनुहुन्छ ।“मैले यति राम्रो, स्वच्छ, सफा र हरियाली काठमाडौँ कहिल्यै देखेको थिइनँ । घरमा टेलिभिजन हेरिरहँदा काठमाडौँको हरियाली र सौन्दर्य देखेर छक्कै परेको छु, चोकमा हेर्दा त झनै राम्रो छ,’’ उनले थपे, “प्रकृतिमाथिको मानवीय अतिक्रमणले सुन्दरता र सौन्दर्य छोपिएको रहेछ, अहिले खुलेको छ । ” काठमाडौँ उपत्यकाको सडक विस्तार, सार्वजनिक यातायातको बढ्दो चाप, धुलो, धुवाँ, कोलाहल र मानिसको बढ्दो चहलपहलले प्रकृति र मानिस दुवैलाई जोखिममा पारिरहेको डा. झा बताएका छन् । विज्ञहरूका अनुसार सार्वजनिक यातायातको बढ्दो चापले काठमाडौँमा वायु प्रदूषणको मात्रा थाम्नैै नसक्ने गरी बढिरहेको थियो । प्रदूषित वातावरणले मानव स्वास्थ्यलाई अत्यन्तै जोखिममा पारिरहेको थियो ।

प्रदूषण कम भएपछि सहरमा हरियाली बढेको छ भने सहरको वातावरण पनि सुन्दर देखिएको छ । काठमाडौँको वायु प्रदूषणको अवस्थाबारे वातावरण विभागमा रेकर्ड भएको तथ्याङ्क अनुसार बन्दाबन्दीपछि सहरमा प्रदूषणको मात्रा ह्वात्तै घटेको छ । विभागका प्रवक्ता तथा उप–महानिर्देशक इन्दुविक्रम जोशीका अनुसार अहिले काठमाडाँैंको रत्नपार्क वायुमापन स्टेसन केन्द्रको रेकर्डमा हावामा प्रदूषणको मात्रा अर्थात् एअर क्वालिटी सूचकाङ्क मात्र ९ माइक्रोग्राम रहेको छ । रत्नपार्कमा अहिलेसम्म यति कम रेकर्र्ड कहिल्यै पनि भएको थिएन । पहिले यसको चार गुणासम्म बढी हुने गरेको थियो ।

त्यस्तै शङ्खपार्क, भक्तपुर र भँैसेपाटीमा पनि लगभग २५ माइक्रोग्रामभन्दा कम नै रेकर्ड भएको छ । नेपाल सरकारले तोकेको एक्यूआई अर्थात् एअर क्वालिटी इन्डेक्स ५० माइक्रोग्राम हो भने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले २५ तोकेको छ । यो मात्रा अहिले नेपाल सरकारले तय गरेको मापदण्ड अर्थात् डब्लूएचओले तोकेको मापदण्डभन्दा निकै कम हो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्