Logo

वीरगञ्ज कोरोना भाइरसको नयाँ केन्द्रबिन्दु बनेपछि…



काठमाडौं, २५ वैशाख । एकै दिन १७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि प्रदेश नम्बर २ को शहर वीरगञ्ज महानगरपालिका देशभित्र नयाँ केन्द्रबिन्दु बनेको छ । यसअघि नेपालगञ्जमा एकै समुदायका २३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएकोमा वीरगञ्जमा एकै दिन एकै परिवारका १७ जनामा संक्रमण भेटिएको हो ।

२४ वैशाखमा संक्रमण पत्ता लागेपछि वीरगञ्जका जनप्रतिनिधि देखि प्रदेश-२ का मुख्यमन्त्री समेत आलोचित भएका छन् । उनीहरु संक्रमण रोकथामका लागि ठोस कदम चाल्न नसकेको भन्दै आलोचित भएका हुन् ।

मुख्यमन्त्री लालबाबु राउत केन्द्र सरकारलाई दोष थोपर्दै पानी माथिको ओभानो बन्न खोजिरहेका छन् । उनले केन्द्र सरकारले रोकथामका लागि सुरक्षासम्बन्धी आवश्यक ध्यान दिन नसकेको आरोप लगाउन खोजेका छन् ।

तर, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीको भनाई भिन्न छ । उनी मुख्यमन्त्री लालबाबु राउत र केन्द्र सरकार दुवै जिम्मेवार रुपमा प्रस्तुत नभएको बताउँछन् । सरावगीले वीरगञ्जमा निषेधाज्ञा जारी गर्दै कडाई गर्नुपर्नेमा जोड दिदै आएका थिए । तर, उनको कुनै सुनुवाई नभएको बुझिएको छ । सरावगीले मुख्यमन्त्री राउत भूमिकामाथि समेत प्रश्न गरेका छन् ।

वीरगञ्जमा शुरुमा जमातीबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । छपकैयास्थित मस्जिदबाट संक्रमित भेटिएका थिए । संक्रमित भारतीय नागरिक धर्मगुरु लकडाउनको बखत छिरेको र त्यसमा सुरक्षामा आवश्यक कडाई नगरिएको विषय पनि उठेको थियो । यसमा पनि आरोप प्रत्यारोप चलेको थियो ।



प्रतिक्रिया दिनुहोस्