Logo

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि



काठमाडौँ, २६ वैशाख । सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ ।

कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि सङ्घीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरु गरिएको छ । राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार बैठक प्रारम्भ गरिनेछ । राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ तर प्रतिनिधि सभाको कार्यसूची एकिन भइसकेको छैन । अधिवेशन नभएको बेला निधन भएका पूर्व सभासद् प्राडा विश्वनाथप्रसाद अग्रवालको निधनमा शोक प्रस्ताव पारित हुनेछ ।

यस्तै, सरकारले हालै दुई अध्यादेश जारीपछि साबिकका व्यवस्था पुनः जगाउन जारी गरेको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिक व्यवस्था जगाउने अध्यादेश २०७७ दुवै सदनमा प्रस्तुत हुनेछ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले अधिवेशन सुरुवातका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन् । उनले भने, ‘‘हामीले आवश्यक पूर्वाधारको तयारी गरिसकेका छौँ । कोरोना जोखिम न्यूनीकरणका लागि पनि स्वास्थ्य सेवा विभागले दिएको प्रतिवेदनका आधारमा आवश्यक सुरक्षात्मक व्यवस्था तयारी गरिसकेका छौँ । हरसम्भव रूपमा सुरक्षित तवरले बैठक सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।’’

चालू अधिवेशन सरकारका वार्षिक कार्यक्रम पेससँगै बजेट पनि प्रस्तुत हुनेछ । संवैधानिक समयसीमा अनुसार जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । संसद् सञ्चालन नियमावलीको व्यवस्था अनुसार बजेट प्रस्तुतअघि कम्तीमा १५ दिन पहिले पूर्वबजेट छलफल हुनेछ । पूर्वबजेटपछि नीति तथा कार्यक्रममा छलफल हुनेछ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्