Logo

लोकप्रिय बन्यो ‘भर्चुअल’ छलफल



भद्रपुर, २६ वैशाख : झापाका पत्रकार विजय बरालले कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दीको अवधिमा जुम सफ्टवेयरको प्रयोग गरेर सामाजिक सञ्जालमार्फत निरन्तर देश–विदेशका नेपालीमाझ भर्चुअल छलफल कार्यक्रम सञ्चालन गरिरहनुभएको छ । प्रत्यक्ष प्रसारण हुने उहाँको छलफल कार्यक्रमले ५०औँ शृङ्खला पूरा गरिसकेको छ ।

पचास हजारभन्दा बढी ‘फ्लोवर’ रहेको बिन्जु मिडिया कर्नर (फेसबुक पेज) मार्फत सञ्चालित सो कार्यक्रममा बन्दाबन्दीको ताजा अवस्था, समस्याको पहिचान, राहत वितरण र समाधानको उपायबारेमा जनप्रतिनिधि, पत्रकार, समाजसेवी र सर्वसाधारणबीच अन्तक्र्रिया हुने गरेको छ । लाखौँ दर्शकले कार्यक्रम हेरिसकेका छन् ।

“बन्दाबन्दीका समस्या जनताले जनप्रतिनिधिलाई सुनाउन पाउन् भनेर नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षसँग भिडियो कन्फ्रेन्स गराएँ”, उहाँ भन्नुहुन्छ, “हजारौं दर्शकबाट सकारात्मक प्रोत्साहन पाएपछि कार्यक्रमलाई शृङ्खलाबद्ध बनाउँदै लगेको छु ।”

“सकारात्मक सन्देश हाम्रो अभियान” भन्ने नाराका साथ सञ्चालन गरिरहनु भएको सो छलफल कार्यक्रममा सङ्घीय सांसद्, प्रदेश सभाषद्, नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, पत्रकार, सामाजिक अभियन्ता, शिक्षक, साहित्यकार, कलाकार र राजनीतिक दलका नेता सहभागी भइसक्नुभएका छन् ।साथै जिल्लाका प्रमुख प्रशासक र प्रहरी प्रमुखसमेत प्रत्यक्ष प्रसारणमा सहभागी बनिसकेका छन् ।

जिल्लाका सबै १५ स्थानीय तहका प्रमुखसँग उहाँले कार्यक्रममार्फत छलफल गरिसक्नुभएको छ । कार्यक्रममा देशभन्दा बाहिर रहेका नेपालीले समेत सहभागी हुँदै कोरोना कहरका क्रममा आफूले भोग्नुपरेको सकस सुनाउँदै स्वदेश फर्काइदिन आग्रह गरेको पाइएको छ ।

“यो मैले मात्र होइन, सबै मिडियाले गर्न सक्छन्”, पत्रकार बराल कार्यक्रमबारे भन्नुहुन्छ, “बन्दाबन्दीका बेला पत्रपत्रिका बन्द भएका र टेलिभिजन स्टेशनसम्म पहुँच गाह्रो भएको यो बेला सर्वसाधारण जनतालाई सरकारका प्रतिनिधिसँग प्रत्यक्ष प्रसारणमा ल्याउन जुम सफ्टवेयरले ठूलो अवसर सिर्जना गरेको छ, सबै पत्रकार र मिडियाले यसको प्रयोग गर्न सक्नुहुन्छ ।”

उहाँ प्राइम टेलिभिजनका झापा संवाददातासमेत हुनुहुन्छ । उहाँले आफ्नै घरको कोठालाई स्टुडियो ठानेर छलफल कार्यक्रम चलाइरहनुभएको छ । कार्यक्रमको एक शृङ्खलामा कम्तीमा चार जनाले छलफलमा भाग लिने गरेका छन् । उहाँले कार्यक्रमको विषय प्रवेश र मोडरेटरको भूमिका निर्वाह गर्नुहुन्छ भने मुख्य जवाफदेही वक्तासमक्ष पत्रकार वक्ताले प्रश्न र टिप्पणी प्रस्तुत गर्दछन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष तारामणि सापकोटाले पत्रकार बरालको कार्यक्रम आम पत्रकारका लागि अनुकरणीय र घरमै बसिरहेका सर्वसाधारणका लागि उपयोगी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमले स्थानीय सरकार र जनप्रतिनिधिसमक्ष जनताको गुनासो र सुझाव पु¥याउन मद्दत गरेको छ । बन्दाबन्दीमा घर बस्नुपर्दा कसरी पत्रकारितालाई निरन्तरता दिने होला भनेर सोच्ने क्रममा फुरेको भर्चअल छलफल कार्यक्रमले पत्रकार बराललाई लोकप्रिय बनाएको छ । बन्दाबन्दीपछि समेत अभियानलाई नयाँ स्वरुपमा निरन्तरता दिने उहाँले बताउनुभयो ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्