Logo

लकडाउनमा रेल गुड्दैन भन्ठानेर लिकमा सुत्ने १६ जना किचिए



एजेन्सी २६ वैशाख । लकाउनमा रेल गुड्दैन भन्ठानेर हिडेरै घरतर्फ लागिरहेका मजदुरहरुको समुह थाकेर रेलको लिकमै सुते । राति लिकमै सुतेका उनीहरुलाई विहान रेल आएको पत्तो भएन । रेलका चालकले पनि लिकमै मानिसहरु सुत्लान् भन्ने कल्पना गरेका थिएनन् ।

चालकले अचानक रेलको लिकमा मानिसहरु सुतेको त देखे तर ढिलो भइसकेको थियो । रेल नियन्त्रणमा लिएर रोक्न खोज्दा सकेनन् । मानिसहरु किचिए । यो घटना भारतको महाराष्ट्र राज्यको औरंगाबाद शहरमा भएको हो जहाँ मालबाहक रेलगाडीले रेलको लिकमा सुतिरहेका मजदुहरुको एक समुहको ज्यान लिएको छ ।

मालबाहक रेलगाडीले शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदूरको एक समुहलाई मालबाहक रेलले जालना र औरंगाबादबीच बिहान साँढे छ बजे किचेको थियो । उक्त दुर्घटनामा अन्य केही मजदुर पनि घाइते भएका छन् ।

घाइतेहरुलाई औरंगाबादस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनालगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थल पुगेका थिए । भारतीय रेलवेले मजदूरहरु रेलमार्गमा आराम गरिरहेको समयमा दुर्घटना भएको जनाएको छ ।

भारतीय रेलमन्त्री पियुष गोयलले उक्त घटनाको जाँचको आदेश दिएका छन् । संचार माध्यमहरुका अनुसार यी सबै मजदुरहरु मध्यप्रदेशका थिए । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतक मजदूरका प्रत्येक परिवारलाई भारतीय रुपैयाँ पाँच लाख दिने घोषणा गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालगत्तै ट्वीट गरी महाराष्ट्रको औरंगाबादमा भएको घटना अत्यन्त दुःखद भएको र आफू घटनाबाट मर्माहत भएको जनाए । आफूले रेलमन्त्रीलाई उक्त घटनाबाट पीडितलाई जतिसक्दो चाँडो सहयोग गर्न निर्देश दिएको बताएका छन् ।

भारतमा देशव्यापी लकडाउन घोषणा गरेपछि मुम्बई, नयाँ दिल्ली समेतका ठूला शहरबाट लाखौं मजदुर पैदलै हिँडेर आआफ्ना घर फर्किरहेका छन् । पछिल्लो पटक भारतमा भएको यो दुर्घटना लकडाउनको अवधिको सबैभन्दा भयानक रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्