काठमाडौं, २६ वैशाख । आजबाट संसद अधिवेशन शुरु हुँदैछ । बजेट अधिवेशन मानिएको यसले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ । तर, यसपटक नेपाल कम्युनिस्ट पार्टीभित्र चरम विवाद रहेकाले नीति तथा कार्यक्रम पारित भइहाल्नेमा आशंका हुनथालेको छ ।
बजेट अधिवेशन शुरु नहुँदै बिहिबारका लागि तय भएको नेकपा स्थायी समिति बैठक स्थगित गरिएको छ । बैठकमा एक व्यक्ति एक पदलगायत ओलीविरोधी खेमाले कडा कदम चाल्न सक्ने सुचनाका आधारमा स्थगितको निर्णय लिनुपरेको बुझिएको छ ।
अब सबैको ध्यान संसदको बजेट अधिवेशनमा गएको छ । कथंकदाचित नीति तथा कार्यक्रम पारित नहुने भएमा के होला ? धेरैमा आशंका बढेको छ । सरकारको कार्यक्रम पारित भएन भने प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था आउनसक्छ । तर, यस अगावै ओलीले अर्को कदम चाल्नसक्छन् ।
ओलीका सामु संकटकाल बलियो अस्त्र छ । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी ओलीलाई निकै सघाइरहेकी छिन् । उनले नेकपा विवाद देखि ओलीको सत्ता जोगाउन अन्तर्राष्ट्रिय लबिङ समेत गरेको खबरहरु बाहिर आए । पछिल्लो समय ओली शितलनिवासमा राष्ट्रपति भण्डारीसँग परामर्शका लागि बाक्लो आवतजावत गर्न थालेका छन् । यसलाई उनले भविष्यमा वैकल्पिक अस्त्रका तयार गरी छलफल चलाएको बुझिएको छ ।
ओलीको अन्तिम अस्त्र संकटकाल घोषणाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रेरित गर्ने हुनसक्छ । संविधानमा संकटकालको व्यवस्था छ । संविधानको धारा २७३ को उपधारा (१) मा भनिएको छ- नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विश्रृंखलता, प्राकृतिक विपद वा महामारीको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागू हुने गरी संकटकालीन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्न सक्नेछ ।
अहिले संकटकाल लगाउँदा गैरसंवैधानिक हुन नसक्ने अवस्था छ । देशमा मात्र नभई विश्वभर कोरोना भाइरसको महामारी छ । गम्भीर आर्थिक संकट झेल्नुपर्ने अवस्था छ । यसले संकटकाललाई प्रशस्त आधार प्रदान गरेको छ ।
ओलीको सत्ता संकट जटिल बनेमा संकेटकाल नलाग्दा भन्ने अवस्था छैन । यसको सम्भावनाबारे देशभित्र बहस नचलेको होइन । ओलीले पछिल्लो समय पार्टीभित्र घेराबन्दी भइरहेको विषय उठाइरहेका छन् । उनका निकटस्थले यसलाई सार्वजनिक रुपमा बोलिरहेका छन् । यस्तो अवस्थामा उनका लागि संकटकाल दरिलो अस्त्र बन्नसक्छ ।-File Photo