काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ । किटानी जाहेरी दर्ता भएलगत्तै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी परेपछि उतैको निर्देशन अनुसार जाहेरी दर्ता भएको हो । किटानी जाहेरीमा पूर्व आइजीपी सर्वेन्द्र खनालसहित सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले अपहरण गरेको उल्लेख छ ।
१० वैशाखमा महोत्तरीस्थित घरबाट काठमाडौं आएका भनिएका डा. सुरेन्द्र यादवले आफूलाई डर, धाक र धम्की देखाई अपहरण गरेको आरोप लगाई किटानी जाहेरी दिन जाँदा दर्ता नभएपछि सरकारी वकिलको कार्यालय पुगेका थिए । त्यहाँबाट प्रक्रिया अगाडि बढेको थियो ।
रासपाका सांसद यादव १० वैशाखमा अंगरक्षकससहत तत्कालिन समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अगरिया र कौशल यादवसँगै आएका थिए । तर, ११ वैशाखमा उनले आफूमाथि अपहरण भएको भन्दै मिडियामा छाएका थिए ।
अपहरणको आरोपी पूर्व आइजीपी सर्वेन्द्र खनाल र सांसदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले भने सँगै आएर अपहरणको गम्भीर आरोप लगाएको दाबी गरेका छन् । उनीहरुले सांसद यादव मन्त्री बन्न काठमाडौं आएको दाबी गरेका छन् ।-File Photo