काठमाडौं, २६ वैशाख । आफ्नै बुबा आमाको हत्या गरेको अभियोगमा कन्चन लिम्बु बिहीबार साँझ पक्राउ परेका छन् । आफ्नै बुबा आमाको बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा तेह्रथुम, फेदाप गाउँपालिकाका लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
कन्चनले बन्चरो प्रहार गर्दा ४२ वर्षीय बाबु रुप बहादुर लिम्बु र ३५ वर्षीया सौतेनी आमा रुपेनी लिम्बुको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सम्दुबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय समेतबाट प्रहरी टोली खटी गएको छ ।
त्यस्तै खोटाङमा आफ्नै भिनाजुलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा केपिलासगढी गाउँपालिकाका मिलन राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । मिलनले भिनाजु नाता पर्ने ४७ वर्षीय प्रितिलाल राईलाई टाउकोमा ढुंगा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ, ईलाका प्रहरी कार्यालय बाक्सिला र प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै आवश्यक अनुसन्धान र सोधपुछका लागि मिलनकै भाइ २० वर्षीय जिवन राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।