Logo

‘हेल्लो सरकार’द्वारा गुनासो सम्बोधन जारी



काठमाडौँ, २७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न बन्दाबन्दी (लकडाउन) का बेला हेल्लो सरकारले गुनासो लिने र सुनुवाइका लागि सिफारिस गर्ने काम निरन्तर गरिरहेको छ ।

कर्मचारी कार्यालयमा आउन नसके पनि घरबाटै काम गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेल्लो सरकार शाखाले जनाएको छ । खाका अनुसार हेल्लो सरकारको पैसा नलाग्ने फोन नं. ११११ को फोन कल १३ कर्मचारीको मोबाइलमा डाइभर्ट गरिएको छ, जहाँ फोन गरी देशको जुनसुकै निकाय सम्बन्धी गुनासो दर्ता गर्न सकिन्छ । यसअघि दुई सिफ्टमा काम गर्ने कर्मचारीले आ–आफ्नै सिफ्टमा घरबाटै गुनासो लिइरहेको शाखाका प्रमुख शेखर पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार हेल्लो सरकारमा टेलिफोनबाट मात्र दैनिक आठ सयदेखि नौ सयवटा गुनासा दर्ता हुने गरेका छन् । गुनासा वेब पोर्टल मार्फत नै दर्ता गर्ने तथा सुनुवाइका लागि सम्बन्धित निकायमा पठाइने भएकाले घरबाटै काम गर्दा पनि हेल्लो सरकारको सेवामा कुनै असर नपरेको प्रमुख पौडेलले बताएका छन् । सबै प्रदेश र स्थानीय तह हेल्लो सरकारको वेबमा आधारित सञ्जालमा आबद्ध हुनाले सम्बन्धित निकायले गुनासो प्राप्त गर्ने अवस्था रहेको उनले बताएका छन् ।
धेरै गुनासा बन्दाबन्दीकै
बन्दाबन्दी सुरु भएदेखि धेरैजसो गुनासा बन्दाबन्दी सम्बन्धी भएको प्रमुख पौडेलले बताएका छन् । बन्दाबन्दीको बेलामा मानिस हिँडिरहेका छन्, किन भेला भइरहेका छन् ? भन्ने जस्ता धेरै गुनासा प्राप्त भएको उनले जानकारी दिएका छन् । बन्दाबन्दीमा भएको आपूर्ति असहजका विषयमा पनि नागरिकले गुनासो गर्ने गरेका छन् ।

पसलमा बढी मूल्य लिएको, ग्याँस पाइएन, कालोबजारी भयो भन्ने जस्ता गुनासा प्राप्त भएको उनले बताएका छन् । उनले कतिपय गुनासा लकडाउनले गर्दा गाउँ जान पाइएन, बीच बाटोमा अलपत्र परियो भन्ने जस्ता आएका छन् । अर्कोतिर मानिसलाई हिँड्न दिएकाले भीडभाड बढ्यो भन्नेछन् । सङ्क्रमणको जोखिमको बेला हिँड्न दिए लकडाउनको के मतलब भयो ? भनी पनि प्रश्न गरेका छन् । अलपत्र परेकालाई गन्तव्यसम्म पु¥याउन सहजीकरण गर्न स्थानीय तहलाई सुझाव दिइएको र यात्री जहाँ पुग्छन् त्यहाँ सुरक्षित क्वारेन्टाइनको व्यवस्था गर्नसमेत सिफारिस गर्ने गरिएको प्रमुख पौडेलले बताएका छन् ।

अस्पतालले बिरामी लिन नमानेको, औषधि पसल नखुलेको, औषधि नपाइएको, औषधि किन्न जान नदिइएको जस्ता गुनासा पनि आएको हेल्लो सरकार शाखाले जनाएको छ । कतिपय औषधि पसल प्रहरीको सहयोगमा खोल्न लगाइएको, नपाइएका औषधि मगाएर प्रहरी कार्यालय मार्फत पु¥याउने काम गर्ने हेल्लो सरकार मार्फत भएको प्रमुख पौडेलले बताएका छन् । कतिपय कार्यालयको भने अहिले सेवा बन्द हुँदा र सम्बन्धित अधिकारी उपलब्ध नहुँदा गुनासो सुनुवाइ हुन सक्ने अवस्था नरहेको बताएका छन् । लकडाउनका विषयबाहेक विकास निर्माणका विषयमा पनि थोरै गुनासा र सुझाव प्राप्त हुने गरेको शाखाले जनाएको छ । कतिपयले सरकारलाई सुझाव पनि दिने गरेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्