काठमाडौं, २७ वैशाख । भारतले नेपाली भू-भाग दार्चुलाको लिपुलेक कालापानी हुँदै चीनको मानसरोवर जाने बाटो बनाएकोमा आपत्ति जनाएको छ । भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जाने बनाएको सडक उद्घाटन गरेको भोलिपल्ट अर्थात आज नेपाल सरकारले वक्तव्यमार्फत् आपत्ति जनाएको हो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतले नेपाली भूमि लिपुलेकमा शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति कडा आपत्ति भनिएको छ । तर, विज्ञप्तीमा कसैको पनि हस्ताक्षर गरिएको छैन् । न त मिति नै उल्लेख गरिएको छ । सुगौली सन्धि अनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित महाकाली नदी पूर्वको भूभाग नेपालको रहेको कुरा मन्त्रालयको विज्ञप्तीमा जनाईएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘सो क्षेत्र नेपालकै रहेको भन्ने कुरा बारम्बार दोरो¥याउँदै आएको हो । पछिल्लोपटक भारतले जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भूमि भारतमा गाभिएपछि गएको नोभेम्बर २० मा भारत सरकारलाई कूटनीतिक नोट पनि पठाइएको थियो ।’
नेपाली भूमिमा बाटो बनाउने भारतको एक तर्फी कार्यको विरोध गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ, ‘यसले दुई देशबीच प्रधानमन्त्री तहसहितमा भएका सहमतिको उल्लंघन गरेको छ । सीमा विवाद दुई देशबीचको वार्ताबाट समाधान गर्ने सहमतिविरुद्ध भारतले काम गरेको छ ।’