Logo

दर्ता नभएका व्यवसाय कमाउँछन् सवा दुई खर्ब



काठमाडौँ, २८ वैशाख । कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले दुई खर्ब ३३ अर्ब १५ करोड रुपियाँको आम्दानी गर्ने उल्लेख छ । त्यस्तै यी व्यवसायको वार्षिक खर्च एक खर्ब ६१ अर्ब १४ करोड रुपियाँ रहेको र नाफा करिब ७२ अर्ब रुपियाँ पुग्ने पनि प्रतिवेदनमा उल्लेख छ । विभागका अनुसार गणनाको क्रममा देशभर चार लाख ५८ हजार ८५७ त्यस्ता व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । सञ्चालनमा रहेका त्यस्ता प्रतिव्यवसायको आम्दानी औसतमा ५० करोड ८० लाख रुपियाँ छ ।
दर्ता नभई सञ्चालनमा रहनेमा थोक तथा खुद्रा पसलको सङ्ख्या सबैभन्दा धेरै छ । प्रतिवेदनअनुसार देशभर दुई लाख ७८ हजार ४५२ थोक तथा खुद्रा पसल दर्ता नभई सञ्चालनमा छन्, जसको आम्दानी वार्षिक ८८ अर्ब ९६ करोड रुपियाँ छ ।

यसअन्तर्गत विभागले ठूला सवारी तथा मोटरसाइकल मर्मत केन्द्रसमेत समेटेको छ । यसपछि आवास तथा खाद्य सेवासम्बन्धि गतिविधि गर्ने ८२ हजार ५०१ व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । यस्ता व्यवसायले वार्षिक ६८ अर्ब ९५ करोड रुपियाँको आम्दानी गर्छन् । देशभर ५३ हजार ३२८ उत्पादनमूलक व्यवसाय पनि दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ, जसले वर्षभर २४ अर्ब ४३ करोड रुपियाँ आम्दानी गर्ने प्रतिवेदनमा उल्लेख छ ।

विभागले यस अध्ययनमा औद्योगिक व्यवसायको गणना गर्दा विभिन्न १७ वटा भागमा वर्गीकरण गरेको छ । तीमध्ये विद्युत्, ग्यास र कृषि व्यवसायबाहेक बाँकी अन्य सबै व्यवसायमा सानो सङ्ख्यामा भए पनि दर्ता नभई उद्योग सञ्चालन भएको पाइएको छ । दर्ता नभएका यी सबै व्यवसायमा गरी आठ लाख १३ हजार व्यक्ति संलग्न छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्