Logo

भारतीय सडक निर्माणप्रति विरोध



काठमाडौँ, २८ वैशाख । नेपालको भूमि लिपुलेक अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विरोधमा विद्यार्थी सङ्गठनले शनिबार विरोध प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थक अनेरास्ववियुका विद्यार्थीले लैनचौरस्थित भारतीय राजदूतावास परिसर र अन्य विद्यार्थी सङ्गठनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । महानगरीय प्रहरी कार्यालयले कोरोना भाइरस (कोभिड–१९) बन्दाबन्दी उल्लङ्घन गरी विरोध प्रदर्शन गरेका विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । उनीहरू सबैलाई साँझ रिहा गरिएको छ ।

भारतीय अतिक्रमणविरुद्ध विभिन्न नारासहित उपस्थित भएका विद्यार्थीले सडक निर्माण कार्य बन्द गर्न माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घले पनि अतिक्रमणविरुद्ध चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ । यसैबीच नेपालको सीमा अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विरोधमा नेपाली सेनाका पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीबलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ लगायतको समूहले विरोध प्रदर्शन गरेको छ । नेपाली राष्ट्रिय झन्डासहित महाराजगन्जस्थित सडकमा विरोधमा प्रदर्शनका निस्कएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिई साँझ छाडेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्