Logo

हिमालयन बैंकको खुद नाफा २ अर्बभन्दा बढी



काठमाडौँ २८ वैशाख : हिमालयन बैंक लिमिटेड (HBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको अधिकांश सूचकहरुमा सुधार भएको देखिएको छ।

चालु आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ३० करोड ३० लाख रुपैयाँ बढी हो। गत आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा ८२ करोड ८७ लाख रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै निष्क्रिय कर्जामा पनि सुधार हुँदा खुद नाफा बढ्न पुगेको देखिन्छ।

चालु आवको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ अर्ब ८४ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ८ करोड ६४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ७ करोड ९० लाख रुपैयाँ बढी हो भने सञ्चालन मुनाफा २२ करोड १० लाख रुपैयाँ बढी हो।

इम्पेरिमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद ब्याज आम्दानी भन्दा सञ्चालन मुनाफा वृद्धिदर बढी देखिएको हो। गत आवको चैत मसान्तसम्ममा २३ करोड रहेको इम्पेरिमेन्ट चार्ज चालु आवको सोही अवधिसम्ममा १४ करोड रिभर्स भएको छ। यसले बैंकको सञ्चालन मुनाफा तथा खुद नाफा बढ्न टेवा दिएको छ।

चैत मसान्तसम्ममा १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशत रहेको छ। यो गत आवको यसै अवधिको तुलनामा ०.२० प्रतिशतविन्दु कम हो।

बैंकको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा सामान्य सुधार भएको छ। ९ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा कायम भएको छ। यो गत आवको सोही अवधिको तुलनामा १ रुपैयाँ ४४ पैसा बढी हो। बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ५० पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ। मेरोलगानी File Photo



प्रतिक्रिया दिनुहोस्