Logo

चीन र भारतको चेपुवामा नेपाल



समाचार विश्लेषण । पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भनेका थिए । भारत र चीन जस्ता विशाल देशको बीचमा अवस्थित नेपाललाई दुरदर्शी पृथ्वीनारायण शाहले दुई ढुङ्गाबीचको तरुल भन्नुमा भुराजनीतिक संवेदनशीलता मुख्य कारण हो ।

दुई ठुला साम्राज्यको बीचमा रहेर पनि नेपालले आफ्नो सावैभौमसत्ता र भौगोलिक अखण्डतालाई कायम राख्न सफल हुँदै आएको छ । बहादुरी र कुटनीतिक चार्तुयताबाट शासकहरुले देशलाई जोगाउँदै आएका छन् । तर, यदाकदा नेपालमाथि चुनौतीहरु आउने गरेका छन् । बाह्य हस्तक्षेप र आन्तरिक राजनीतिमा चलखेल गरेर द्धन्द्ध बढाउने शक्तिहरु देखिने गरेका छन् ।

नेपालको सीमा भारतसँग तीनतर्फ जोडिएको छ भने चीनसँग एकतर्फ जोडिएको छ । दुवै देशसँग केही न केही सीमालगायत समस्याहरु रहेकै छन् ।

पछिल्लो समय भारतले लिपुलेकबाट चीनसँग जोड्ने व्यापार मार्ग उद्घाटन गरेको छ । ८० किलोमिटर लम्बाईको यो सडक निर्माण दशकौं भइसकेको छ । यसबारे सम्झौता भने १५ मे सन् २०१५ मा भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणताका संयुक्त वक्तव्यको बुँदा नम्बर २८ मा व्यापार मार्ग निर्माण गर्ने विषय छ । त्यतिबेला नेपाल महाभूकम्पले थलिएको थियो । तर, बेइजिङमा भारत र चीनका नेताहरु बसेर त्रीदेशीय सीमामा पर्ने क्षेत्रबारे सम्झौतामा नेपाललाई बेवास्ता गरिदिए ।

पाँच वर्षमा महाकालीमा धेरै पानी बग्यो । भारतले सडक निर्माण गरिरह्यो । दार्चुलाका सांसद दिलेन्द्र बडुले संसदमा यसबारे बोलिरहे । सरकारले नसुने जस्तो गरेको थियो । अहिले आएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सडक मार्ग बनाइरहेकोबारे जानकारी थियो भनेका छन् । त्यसो भए सरकारले के गर्यो । ज्ञवालीले कुटनीतिक माध्यमले जानकारी मागेको सुनाए । तर, भारतले कुनै जानकारी नदिई २६ वैशाखमा सडकमार्ग खोल्यो ।

लिपुलेक नेपाली भुभाग भएपनि नक्शामा नराखिएको विषयबारे गम्भीर प्रश्नहरु उठाइएका छन् । २०३२ सालको नक्शामा कालापानी, लिपुलेक र लिम्पियाधुराको पुर्वतर्फको भुभाग मात्र समेटेर नक्शा निकालिएको छ । पश्चिमतर्फको भुभाग समेत समेट्न सरकारमाथि दबाब छ । यस्तो नक्शा सार्वजनिक गर्ने सरकारको तयारी भइरहेको छ । यसको जानकारी मन्त्री ज्ञवालीले दिएका छन् ।

अहिले नक्शाको विषय उठ्नुमा २ नोभेम्बर २०१९ मा भारतले राजनीतिक नक्शा सार्वजनिक गर्नु हो । सरकारले त्यसप्रति ध्यानाकर्षण जनाएको थियो । तर, त्यसको कुनै आधिकारिक जवाफ नआएको मन्त्री ज्ञवालीले बताए । निरन्तर कुटनीतिक पहल गरी जवाफ माग्दा औपचारिक जवाफ समेत नदिइकन बाटोको उदघाटन गरिएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । ओली सरकारको पालनामा बोल्ने र जवाफ माग्ने बाहेक ठोस कदम भएको देखिदैन ।

सुशील कोइराला प्रधानमन्त्री हुँदाको बखत भारत र चीनबीच व्यापार मार्ग खोल्ने सम्झौता भएको थियो । त्यसपछि कोइरालाले भारतीय पक्षको ध्यानाकर्षण गराएका थिए । तत्कालिन परराष्ट्रमन्त्री डा. रामशरण महतले आफू स्वयं भारत भ्रमणमा जाँदा तत्कालिन विदेश सचिव एस जयशंकरसँग यो ठिक भएन, समस्याको हल खोजौं भनेको बताए । उनले व्यापार मार्गको उदघाटन आजको नभई पाँच वर्ष अघि देखिको तयारी भएको बताए ।

यता चीनले लिपुलेकबारे भारतसँग सम्झौता गर्दा नेपाललाई सम्झिएन । उसले पछिल्लो समय सगरमाथाको चुचुरो नै आफ्नो हो भनी प्रचार गर्न थालेको छ । चिनियाँ राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको दृश्य भनी तस्बिर राखेको छ । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको छ । चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिकारिक टेलिभिजन हो । यो विश्व परिवेशमा चीनको आधिकारिक धारणा र समाचार प्रसारण र प्रकाशन गर्छ । उक्त टेलिभिजनमा सगरमाथा चीनमा पर्छ भनी उल्लेख गर्नुले गम्भीर प्रश्न उठाएको छ । यसरी पाएसम्म कसैले नछाड्ने गरी नेपाल छिमेकीको चेपुवामा पर्न थालेको छ ।

त्रीदेशीय सीमा क्षेत्रमा नेपाललाई बाइपास गरेर भारत र चीनले सम्झौता गरेका थिए । यो विषय उठ्ने र सेलाउने भइरह्यो । सरकारमा रहेकाले बोलेजस्तो गर्ने तर परिणाम दिन नसकेको देखियो । दुई ढुङ्गाबीचको तरुल बनेर नेपाल चेपुवामा परेको परेइ छ ।



प्रतिक्रिया दिनुहोस्