काठमाडौं, २८ वैशाख । हत्या गरेको अभियोगमा कृष्ण प्रसाद अधिकारी शनिबार राति पक्राउ परेका छन् । आफ्नै श्रीमती ३४ वर्षीया अञ्जु अधिकारीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा खैरहनी नगरपालिकाका अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादका कारण कृष्णले खुकुरी प्रहार गर्दा अञ्जुको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै धादिङमा खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा गंगाजमुना गाउँपालिकाका भिमसेन बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बुढाथोकीले पुरानो रिसिविको कारण छिमेकी ३१ वर्षीय यम बहादुर गुरुङलाई बाटोमा हिँडिरहेको अवस्थामा धारिलो हतियार खुकुरी प्रहार गरेका थिए ।
घटना भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले उनलाई प्रकाउ गरेको हो । घाइते यमको उपचारको लागि धादिङवेशीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।