काठमाडौं, २८ वैशाख । अवैध लागूऔषध सहित ३ जना शनिबार दिउँसो पक्राउ परेका छन् । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिकामा नियन्त्रित लागूऔषध ट्रोमाडोल ३ हजार ८ सय ४० क्याप्सुल, डाईलेक्स डिसि ४ बोतल, नगद ७४ हजार २ सय १० रुपैयाँ र मोबाइल ३ थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भोक्राहा नरसिंह गाउँपालिकाका राज कुमार मण्डल, धरान उपमहानगरपालिकाका अजय श्रेष्ठ र सोही ठाउँ बस्ने अर्जुन कार्की रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मण्डलले हाँकेको प्रदेश १–०२–०४०–प.५३२७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त नियन्त्रित लागूऔषध फेला पारी लागूऔषध खरिद गर्न को.२२ प.७३५३ नम्बरको मोटरसाइकलमा आएका श्रेष्ठ र कार्कीलाई समेत पक्राउ गरेको हो ।
त्यस्तै मकवानपुरको मनहरी गाउँपालिकाकी फुलमाया तामाङलाई अवैध लागूऔषध गाँजा ८० केजी सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । तामाङको घरमा लागूऔषध गाँजा लुकाइछिपाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाइछिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
धनुषाको कमला नगरपालिकाका बहुरी गडेरीलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध गाँजा वेचविखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी धनुषा, नगराईन नगरपालिकाका रामबाबु भिनवारलाई नियन्त्रित लागूऔषध ईक्सीप्लोन १ सय एमएलको ३० बोतल र स्पास्मो प्रोक्सीनभोन पल्स १ सय २० क्याप्सुल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रामबाबुले बोकेको झोलाभित्र उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।