डा. कृष्ण कुमार तामाङः नेपाली भूमिको सुरक्षार्थ वर्तमान कोरोना विपत्ति श्रृजित परिस्थितिमा नेपाल–भारत सिमानामा विद्यमान तैनाथ रहेको जनशक्ति पर्याप्त नभएकोले सीमापारीबाट संक्रमितहरु नेपाल प्रवेश गरी अरु जटिल समस्या हुन नदिन समयमै प्रतिकारात्मक उपाय लिन लागेको खबर सञ्चार माध्यमहरुमा आउनाले आम जनमानसमा सरकारप्रति सकारात्मक सोंच बनेको प्रसंग सह्रानीय छ । विगतका निर्वाचनहरुमा अपुग संख्या पूर्ति गर्न सशस्त्र प्रहरी र प्रहरीका सुरक्षाकर्मी विविध संरचनाहरुको सुरक्षा जिम्मेवारी सेनालाई छाडेर आवश्यक भएको नय‘‘ा स्थान जाने अभ्यास जसरी यो कोरोना महामारीको प्रकोप टार्न मात्र हो वा दिर्घकालीन प्रष्ट खुलेको छैन ।
सिमानामा हुने गतिविधिले देशभित्रका जनजीवन प्रभावित हुने विश्वव्यापी यथार्थ सन्दर्भमा निम्नानुसारको व्यवहारीक प्रयोगात्मक पक्षहरु विचारणीय हुन् आउ‘छन् । सुरक्षाकर्मी वा इकाईको संख्या थपेर लक्ष्य प्राप्तिमा सहजता अवश्य हुनेछ तर अधुरो । अधिकाधिक उद्देश्य सफल गर्न सिमानामा खटाइने सुरक्षार्मीलाई प्रयोजन अनुरुप तयारीका बन्दोबस्ती लगायतका व्यवस्थापन गरिनु अपरिहार्य हुन्छ ।
विज्ञान, प्रविधि र प्रशिक्षण
सिमानामा आवागमन गर्नेहरुका साथ भएका मालसामानहरुमा कागजी रुपैया, झोल औषधी, सुकेको वनस्पतीय जडीबुटी आदि चिजवस्तु कस्ता प्रकार र विधिबाट बनेका खाली ऑखाले खुट्याउन सकिदैंन । जालीनोट, लागु औषध र निषेधित पशुपक्षीका अङ्गप्रत्यङ्ग पहिचान गर्न तत्काल बरामदस्थलमा परिक्षणका लागि परिक्षण उपकरण(टेष्ट किट) आवश्यक पर्दछ । तेश्रो मुलुकमा बैदेशिक रोजगारीको सिलसिलामा पुगेका नेपालीहरुबाट अचार खान भाङ्गका गेडा भेटिनुले नेपाल फर्काइएका घटनाहरु पुराना भई सकेका छैनन् । नेपालबाट कसरी बाहिरिए ति अन्तर्राष्ट्रिय निषेधित वस्तु सोचनीय हुन आउ‘छ । रक्त चन्दनको टुक्रा र खुर्पाको बींड छुट्याउने कसरी ? भाङ्गको गेडो र भिण्डीको बीउ फरक भेटाउन प्रविधि अपनाउन पर्ने हुन्छ ।
ग्यास्टिकको झोल ओखती र प्रतिबन्धित खोकीको कोरेक्स देखेर सुंघेर पार लाग्दैन । भैंसीको सिङ र प्रतिबन्धित गैंडाको खाग (सिङ) छोएर मसारेर छेउटप्पो थाहा गर्न सकिन्न । जंगली भालु र खसीको पित्त, कस्तरीको बीना र युरिया मल जस्तै तमाम खाद्य तथा अखाद्य वस्तुहरुको लामो फेरिस्त बन्छ जसमा विज्ञान, प्रविधि र प्रशिक्षण जस्ता प्राविधिक पक्षको महत्व देखिन्छ । त्यसैले सुरक्षा इकाईलाई तत्काल नतिजा देख्न सकिने गरी छोटो परिक्षण(इन्सटैण्ट टेष्ट)को माध्यमबाट सम्भव हुने विधि र प्रविधि उपलव्ध गराइनु जरुरी हुन्छ । भारतीय समकक्षीसंग चर्चित र विवादित अतिक्रमण विषयमा बोल्नलाई आधिकारिक नक्शाको अभावमा मौन बस्नु पर्ने लाचारी हटाउनु पर्दछ ।
कानुनी ज्ञान र अख्तियारी
जनताको सेवा र सुरक्षामा खटिने सुरक्षाकर्मीलाई किन र केका लागि खानतलाशी र मालसामानको ज‘ाच गर्न आवश्यक भएको बुझाउन सक्ने बनाउन सान्दर्भिक छ । माथिको आदेश भनि टार्ने खालको मानसिकता त्यागेर स्वस्फुर्त ढंगबाट जवाफ फर्काउन सक्ने आत्मविश्वासयुक्त जनशक्तिको कार्य सम्पादनको गुणस्तर विशेष हुने गर्दछ । भारतीय समकक्षी एसएसबी–सीमा सुरक्षा बलका सुरक्षाकर्मीलाई जसरी यात्रुको कागजात लगायत राहदानी चेक गर्दा कैफियत देखिए अध्यागमन ऐन् अन्तर्गत कार्वाही गर्ने, अपराधिक क्रियाकलापका संदिग्धलाई प्रहरी सरह गिरफ्तार गर्ने, बिएसएफ–बोर्डर सेक्यरिटि फोर्सलाई जसरी गैरकानुनी मालसामान र हातहतियार प्रहरी सरह कानुनी तरिकाले कब्जामा लिने(बरामदी मुचुल्का बनाउने), अपराध पीडितबाट जाहेरी दरखास्त लिएर प्रहरीलाई अनुसन्धान कार्यमा सघाउने जस्ता व्यवहारीक मापदण्डको विधान आवश्यक पर्दछ ।
समर्पित(डेडिकेटेड) इकाई
सीमा सुुरक्षाका फौजलाई एकहोरो जिम्मेवारीमा संलग्न गराउ‘दा स्तरीय र प्रभावी सेवा लिन सकिन्छ । जिल्लाहरुमा सामान्य मेलापात वा दैन्दिन मन्त्रिगणका कार्यक्रमहरुमा समेत सशस्त्र प्रहरी बललाई सहभागिता गराउनाले सीमित श्रोतसाधन र अपुग जनशक्तिमा थप भार पर्न गई अपेक्षित नतिजा नआउने परिवेश श्रृजना हुन जान्छ । अतस् सवारी तथा यातायात व्यवस्थित संचालनका निम्ति नेपाल प्रहरीको ट्राफिक प्रहरी जसरी सीमा सम्बद्ध कार्यका लागि सशस्त्र प्रहरी बलको बेग्लै अनाश्रित तथा समर्पित सीमा सुरक्षा इकाईको स्थापनाले आवश्यकताको सम्बोधन हुन सक्दछ, नत्र पिटे जस्तो गर्ने र रुने जस्तो उखानको झलक देखिने फगत औपचारिकता हुन्छ ।
भोकाएको शिशुलाई जस्तो व्यवहार
भोकले तड्पिदै गरेको शिशुलाई आमाले कुटेर शान्त पार्ने प्रयास कल्पना बाहिर हुन्छ । नेपालमा सचेत नागरिकले अन्यथा नभएसम्म सीमा छिमेकी राष्ट्रले मिचेको निशस्त्र शान्तिपूर्ण विरोध गर्दा प्रहरीको हिरासतमा पर्नु लोकतान्त्रिक परिपाटीको मुलुकमा आठौं आश्चर्य हो भन्नु अतिशयोक्ति हुदैंन । सीमा मजबुत बनाउनमा समय खर्चिनु भन्दा कमजोरी देखाई दिएकोमा रिस पोख्ने र अन्यलाई तर्साउने प्रयत्नका रुपमा देखिन्छ । यसरी सुशासनको जग भत्किन गई जनविश्वास गुम्ने खतरा रहन्छ । तसर्थ राज्य धैर्यवान र क्षमाशील भई जनताको साथ लिएर अगाडी बढ्न श्रेयष्कर हुन्छ । (डा. तामाङ पूर्व एआइजी हुन् । उनी सुरक्षा मामलामा गहिरो अध्ययन गर्दै आएका छन्)