Logo

बेलायतमा लकडाउन क्रमिक रुपमा खुला गर्ने ‘सशर्त योजना’



एजेन्सी/लण्डन, २९ बैशाख । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई लकडाउनबाट बाहिर निकाल्ने विभिन्न योजना सार्वजनिक गरेका छन् । तथापि उनले आउने हप्तादेखि लकडाउन हटाउन नसकिने बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले आइतबार साँझ एक सम्बोधनमार्फत इङल्याण्डबासीले आउने बुधबारदेखि व्यायामका लागि बेरोकटोक घरबाहिर जान सक्ने बताएका छन् । यस्तै व्यायाम गर्ने स्थलसम्म सवारीसाधन चलाउन पाइने र कार पार्कमा बस्न दिइने प्रष्ट पारेका छन् । तर यसो गर्दा सोसल डिस्ट्यान्सिङ पालना गर्नुपर्ने र नगरेमा प्रहरीले जरिवाना गर्न सक्ने बताए ।

उनले सबैभन्दा पहिले प्राथमिक विद्यालयहरु खुलाउने र सम्भवत जुनदेखि ती विद्यालयहरु खोल्ने योजना रहेको जानकारी दिए । तथापि यकिन मिति भने भाइरससम्बन्धी तथ्यांक हेरेर आगामी दिनमा घोषणा गरिने उनले बताए । यस्तै, सीमित आतिथ्यताका क्षेत्रहरु जुलाईबाट खुलाउने पनि बताएका छन् । कस्ता आतिथ्यताका क्षेत्रहरु खुलाइने यसका बारेमा विस्तृतमा बताइएको छैन ।

यसैगरी, यदि घरबाटै काम गर्न सम्भव नभएमा काममा जान तर यसरी काममा जाँदा सार्वजनिक सवारीसाधन प्रयोग नगर्न पनि उनले अनुरोध गरेका छन् । काममा पनि सोसल डिस्ट्यान्सिङ पालना गर्न उनले सचेत गरे । सरकारको नयाँ योजनाअनुसार बाह्य देशबाट आएका यात्रुहरुले अब क्वारेन्टीनमा बस्नुपर्ने छ । (वीनेपालीडटकमबाट)



प्रतिक्रिया दिनुहोस्