Logo

कोरोनाको असरलाई निराकरण गर्ने बजेट आउन्छः अर्थमन्त्री



काठमाडौं, बैशाख २९ । आगामी बजेट कोभिड–१९ बाट परेको बहुपक्षीय असरको निराकरण, पूर्वाधारसहितको गुणस्तरीय स्वास्थ्य सेवा विस्तार र निजी क्षेत्रका लागि प्रोत्साहनसहित आर्थिक पुनरुत्थानमा केन्द्रित हुने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७–७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

राष्ट्रिय पुँजी निर्माणमा प्रोत्साहन, थप काम तथा रोजगारी सिर्जना, सार्वकालिक सामाजिक सुरक्षा तथा संरक्षण र सार्वजनिक सेवाको सहज उपलब्धता बजेटको प्राथमिकतामा छन् । सबै क्षेत्रमा आधुनिक प्रविधि विस्तार, नागरिक सेवा र सुशासनमार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नेतर्फ बजेट उन्मुख हुने अर्थमन्त्री खतिवडाले सदनलाई जानकारी दिए ।

नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै खतिवडाले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सेवाको गुणस्तर तथा त्यसको पहुँच विस्तार गर्ने बताए ।

उनका अनुसार कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै कृषिलाई सुधार गर्ने, भूमिहीन किसानलाई भूमिमा पहुँच दिने, कोरोनाले रोजगारी गुमाएका र विदेशबाट फर्केकालाई स्वदेशमै रोजगारी दिने कार्यक्रमसहित बजेट ल्याइने जनाए ।

स्वरोजगारी बढाउन कृषि, साना, घरेलु तथा मझौला उद्यमहरू र सेवा क्षेत्रमा संलग्न हुन उत्प्रेरित हुने गरी बजेट तर्जुमा हुने अर्थमन्त्री डा। युवराज खतिवडाको भनाइ छ । अर्थमन्त्री खतिवडाका अनुसार सार्वजनिक, निजी र सहकारीका माध्यमबाट सामाजिक न्याय स्थापना गर्दै समृद्ध अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट केन्द्रित रहने आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्