Logo

बजेट प्राथमिकीकरण गर्न सुझाव



काठमाडौँ, ३० वैशाख । आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९)ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले सरकारद्वारा प्रस्तुत प्राथमिकता सामयिक नभएको भन्दै प्राथमिकीकरण गर्न सुझाव दिएका हुन् ।

परम्परागत ढङ्गको बजेटले कोरोनाको असर सम्बोधन गर्न नसक्ने भन्दै सामयिक बनाउन सुझाव दिइएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हाललाई सङ्क्षिप्त बजेट ल्याएर कोरोना प्रभावको अध्ययनपछि पूरक अनुमान पेस गर्न पनि सुझाव दिएको छ । छलफलमा भाग लिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद ओनसरी घर्तीले स्वास्थ्य र शिक्षा क्षेत्रमा हालको अवस्थालाई यथास्थितिमा राखेर समाजवादको यात्रा तय नहुने बताएका छन् । कोरोनाले पारेको असरलाई सम्बोधन गर्ने गरी बजेट तय गर्न उनले सुझाव दिएका छन् । यस्तै, नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्र रिजालले कोरोनाको प्रभावमा नै बजेट केन्द्रित हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद एकवाल मियाँले कोरोना जोखिम न्यूनीकरणमा नै बजेट केन्द्रित हुनुपर्ने बताएका छन् । त्यस्तै समाजवादी पार्टीका सांसद सरिता गिरीले कोरोनाले पारेको असरलाई अध्ययन गरेर बजेट केन्द्रित गर्नुपर्ने बताएका छन् । नेकपाकै सांसद जनार्दन शर्माले बजेटलाई कोरोना प्रभावको असर न्यूनीकरणका लागि केन्द्रित हुनुपर्ने बताएका छन् । कृषि क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट व्यवस्था गर्न सुझाव दिँदै उनले हरेक स्थानीय सरकार आत्मनिर्भर बनाउन आफ्नो गाउँ आत्मनिर्भर बनाऔँ भन्ने कार्यक्रम ल्याउनुपर्ने शर्माको सुझाव छ ।

काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडू पुरानै अवधारणाबाट सिद्धान्त र प्राथमिकता आएको बताएका छन् । पूर्ण बजेटभन्दा पूरक अनुमान गर्ने गरी सङ्क्षिप्त बजेट ल्याउन सुझाव दिँदै उनले भने, ‘‘सिद्धान्त र प्राथमिकता पुरानै अवधारणा र ढङ्गबाट आएको छ । योपटक कोरोना महामारीलाई केन्द्रमा राखेर आउनुपर्छ ।” छलफलमा सोमबार करिब ५० जना सांसदले भाग लिनुभएको थियो । मङ्गलबार पनि छलफल जारी रहने छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्