Logo

जीवनरक्षा पहिलो प्राथमिकता : अर्थमन्त्री



काठमाडौँ, ३० वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता जीवनरक्षा भएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम गर्ने प्रयासमा अर्थतन्त्रमा देखिएका समस्याहरूको निराकरणसँगै नागरिकको जीवनरक्षा गर्न सरकार प्रतिबद्ध भएकोले त्यसलाई बजेटमा प्राथमिकता दिइने उनले स्पष्ट पारेका छन् ।

आर्थिक गतिविधि र स्वास्थ्य सुरक्षालाई सँगसँगै अगाडि बढाउन खोजिएको प्रसङ्ग जोड्दै उनले भने, “यी दुवैको सन्तुलन मिलाउन खोजेका छौँ ।” अर्थमन्त्री डा. खतिवडाले राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रिबजेट छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका छन् । सोमबारको बैठकमा उहाँले बजेटको प्राथमिकताका विस्तृत पक्ष स्पष्ट पारेका छन् । आगामी बजेटमा स्वास्थ्य र कृषि क्षेत्रमा लगानी बढाउँदै यी क्षेत्रलाई बलियो पारिने बताउँदै उनले कृषि उत्पादन बढाएर बजार र उपभोक्तासम्म जोड्नेतर्फ बजेट केन्द्रित हुने आश्वस्त गरेका छन् ।

विदेशमा रहेका नेपाली फर्केर आउँदा ग्रामीण कृषिमा संलग्न गराएर रोजगारी र उत्पादन बढाउँदै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न खोजिएको उनले स्पष्ट गरेका छन् । उनले भने, “कृषकले आफ्नो उत्पादनको सही मूल्य पाउने अवस्था सिर्जना गर्न बजार र कृषि उत्पादनको माग बढाउन सक्नुपर्छ त्यसका लागि क्रय शक्ति बढाउने गरी बजेट ल्याउने छ । सन्तुलित विकास भनेको पनि यही हो । त्यसतर्फ बजेट परिलक्षित हुनेछ ।” ‘‘बजेटको सिद्धान्त र प्राथमिकताहरू समय सन्दर्भ, बदलिँदो विश्व परिस्थिति, नयाँ आकाङ्क्षा र आवश्यकताका आधारमा शैली र बाटो पनि परिवर्तन गर्दै जानुपर्ने छ,’’ उनले भने, “नयाँ परिवर्तित अवस्थाले प्राथमिकता फेरिएका छन् ।”
प्रदेश र स्थानीय तहलाई बलियो बनाउँदै लैजाने गरी साधन स्रोतको विनियोजन गर्ने र सङ्गठन संरचनालगायतका क्षमता विकास गरिने उनले स्पष्ट पारेका छन् ।

उनले भने, “ती क्षेत्रहरू सेवा प्रवाहका आधारभूत क्षेत्रका रूपमा विकास गर्ने गरी आगामी आर्थिक वर्षको बजेट अघि बढ्नेछ ।” कोरोना महामारी, स्वास्थ्य सुरक्षा, राहत र जनआकाङ्क्षा पूरा गर्ने सन्दर्भमा प्रदेश र स्थानीय तहको भूमिका प्रखर रूपमा अभिव्यक्त भएको बताउँदै उनले भने, “त्यसले हामी सङ्घीयतामा गएको महत्वको पुष्टि भएको छ ।” सीमा सुरक्षाको विषयलाई बजेटको प्राथमिकतामा नै सम्बोधन गरिएको चर्चा गर्दै उनले भने, “सीमा सुरक्षाको सन्दर्भमा सरकार गम्भीर छ ।’’ कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर पुगेको हुँदा केही आधारभूत आर्थिक क्षेत्रलाई चलायमान बनाउन लागिएको उनले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्