Logo

कोरोना भाइरस सङ्क्रमणको असर : यार्सा उम्रिसके, टिप्न बन्देज



काठमाडौँ, ३० वैशाख । कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्ष यार्सागुम्बा सङ्कलन प्रभावित भएको छ । बन्दाबन्दीका कारण यार्सा सङ्कलन कार्यलाई बन्देज लगाइएको छ । यसबाट सरकारले करोडौँ रुपियाँ बराबरको राजस्व गुमाउनुपर्ने देखिएको छ ।

करोडौँको नोक्सानी
हुम्ला समाचारदाता राजन रावतका अनुसार हुम्लाका बासिन्दा यसपटक यार्सा टिप्न जान पाएनन् । बझाङ र डोल्पाका पाटनमा यार्सा टिप्न जाने गर्दथे । नाम्खा गाउँपालिका–१ का उत्तम लामाले बझाङ जाने तयारी गरे पनि स्थानीय सरकारले यार्सा सङ्कलन कार्य बन्द गरेको सूचना पाएपछि जान नपाएको गुनासो गरेका छन् ।

हुम्लाका युवाले बर्सेनि सरदर पाँचदेखि २० केजीसम्म यार्सा सङ्कलन गर्ने गरेको यार्सा व्यापारी टेकबहादुर लामाले बताएका छन् । उनका अनुसार हुम्लाका युवाले मात्र कम्तीमा तीन करोड रुपियाँ बराबरको नोक्सानी व्यहोर्नु परेको छ । यार्सागुम्बाको खानीका रूपमा मानिएको डोल्पामा कोरोना भाइरस सङ्क्रमणकै कारण सङ्कलन कार्यलाई सर्वपक्षीय बैठकले बन्द गर्ने निर्णय गरेको छ । डोल्पाकी यार्सा व्यापारी निरू चलाउनेका अनुसार डोल्पाका पाटनहरूमा यार्सा उम्रिसकेको छ । उनले डोल्पावासीको मुख्य आम्दानीको स्रोत नै यार्सा भएको बताउँदै यर्सा सङ्कलन गर्न नपाउने भएपछि जीविकोपार्जनमै असर पुग्ने बताएका छन् । विगतमा यतिबेला विद्यालयसमेत बन्द गरेर अग्ला पाटनमा यार्सा टिप्नेहरूको भीड लाग्ने गथ्र्यो, उनले थपे– हेलिकोप्टर चार्टर्ड गरेर व्यापारीहरू पाटनमै पुग्ने गर्थे तर अहिले पाटन सुनसान बनेका छन् ।
पाटन सुनसान
जुम्ला समाचारदाता नेत्र शाहीका अनुसार यार्सा टिप्न रोक लगाइएपछि कर्णालीका पाटन खाली देखिएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका लगायत स्थानका बासिन्दाहरू घरमा ताल्चा लगाएर सपरिवार यार्सा टिप्न पाटन जान्थे ।

गुठिचौर गाउँपालिका–३ का लिबहादुर बुढाले कुनै पनि व्यक्तिले बर्सेनि कम्तीमा ५० हजारदेखि एक लाख रुपियाँसम्म कमाउने गरेकोमा यो वर्ष रोकिएको बताएका छन् । जुम्लाको साना हाँका, ठूला हाँकाका साथै डोल्पाको कागमारा र घनसा पाटनमा जुम्ला, डोल्पा, जाजरकोट, दैलेख, कालीकोट, रुकुमका हजारौँ मानिस यार्सा टिप्न जान्थे । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्