Logo

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु



काडमाडौँ, ३० वैशाख । नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र काम हुँदै आएकामा अहिले निर्माणको बाँकी काम पनि अगाडि बढेको विमानस्थल विस्तार आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् ।

बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढेको उनले बताएका छन् । उपमहानगरपालिकाले आयोजनाका लागि तिनाउ नदीबाट नदीजन्य सामग्री बालुवा र गिट्टी उपलब्ध गराएपछि विमानस्थल निर्माणको बाँकी काम अगाडि बढेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको हो । बन्दाबन्दीका कारण केही समय सुस्ताएको विमानस्थलको निर्माण नदीजन्य पदार्थ बालुवा र गिट्टीको सहजतासँगै १० किलोमिटर पेरिमिटरको सडक निर्माण, टर्मिनल भवन र एप्रोनबीचको भाग ढलान भइरहेको आयोजना प्रमुख अधिकारीले बताएका छन् । “विमानस्थलका लागि अझै ५० हजार घनमिटर नदीजन्य सामग्री आवश्यक पर्छ, अब हामीले अरू स्थानीय पालिकाहरूबाट पनि ल्याउने पहल गरिरहेका छौँ,” उनले भने ।

धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सीसीटीभी, रेस्क्यु एन्ड फायर फाइटिङ, कन्ट्रोल टावर, प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत काम सम्पन्न गरिसकेको विमानस्थल निर्माण कम्पनीले २०२० मार्च ३१ सम्म सम्पन्न गर्ने अन्तिम म्याद पाएको थियो । नेपाली र चिनियाँ कामदारले आन्तरिक क्वारेन्टाइनमा बसेर निर्माण अगाडि बढाए पनि चीनबाट ल्याउनुपर्ने प्राविधिक उपकरण उतै रोकिएकाले निर्माण केही समय पछाडि धकेलिने निर्माण कम्पनीले जनाएको छ । धावन मार्गको लाइट फिक्स्चर र ब्यागेज ह्यान्डलिङ सिस्टमको कन्भेयर बेल्ट मुख्य रूपमा आउन बाँकी उपकरण हुन् । अरू उपकरण ९५ प्रतिशत आइसकेका छन् । लाइट फिक्स्चरजस्ता उपकरण नेपाली प्राविधिकले जडान गर्नसके पनि कन्भेयर बेल्ट जडान गर्न विदेशबाटै प्राविधिक आउनुपर्छ । “अबको समस्या भनेको विदेशमा रोकिएका कामदार र उपकरण जडान गर्ने प्राविधिक र बाँकी उपकरण ल्याउनु हो ।

त्यसका लागि अन्तर्राष्ट्रिय उडान र स्थल मार्ग वा सामुद्रिक मार्ग खुला हुनु जरुरी छ,” आयोजना प्रमुख अधिकारीले भने । चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन २०१४ डिसेम्बर ३१ मा छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपियाँमा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो । सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सुरुको सम्झौता थियो । निर्माण कम्पनीले मधेस आन्दोलन, नाकाबन्दी र आन्तरिक कारण देखाउँदै यसअघि चारपटक म्याद थपिसकेको छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण भइरहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो हुनेछ । जुन ७८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्