Logo

बाँके, रुपन्देहीलगायत जोखिमयुक्त जिल्लामा उच्च सतर्कता



काठमाडौँ, ३० वैशाख । दिनदिनै कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई सिल गर्ने निर्णय भएको हो । उनले भने, जोखिम बढेपछि सिल गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यलयका तर्फबाट प्रजिअ पौडेलले जारी गरेको सूचनाअनुसार यो निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुनेछ । कपिलवस्तुमा सोमबार थप दस जना सङ्क्रमित भेटिएका थिए । योसँगै अहिलेसम्म कपिलवस्तुमा सङ्क्रमतिहरूको सङ्ख्या १५ पुगेको छ । सङ्क्रमित सबैलाई थप उपचारका लागि बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।

आज सङ्क्रमित भेटिएकाहरू १२ दिनअघि भारतको महाराष्ट्रका विभिन्न स्थानहरूबाट नेपाल भित्रिएको जिल्ला प्रशासनले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये आठ जना यशोधरा गाउँपालिका र दुई जना बुद्धभूमि नगरपालिाकाका हुनुहुन्छ । उहाँहरू नेपाल भित्रिए लगत्तै क्वारेन्टाइनमा बस्नु भएको प्रशासनको भनाइ छ । यसअघि सङ्क्रमित ५ जना पनि दुवै देशमा लकडाउन भएकै बेला नेपाल भित्रिनु भएको थियो । प्रजिअ पौडेलका भनाइ उनीहरूको सम्पर्क र सम्बन्धबारे भने यथार्थ सूचना प्राप्त भइसकेको छैन ।

कन्ट्याक्ट ट्रेसिङको कार्य सकियो
नेपालगञ्ज समाचारदाता सिराज खान र बाँके समाचारदाता गोविन्द शर्माका अनुसार नेपालगञ्जमा कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङको कार्य सम्पन्न भएपछि समुदाय स्तरमा पनि परीक्षण सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार सोमबार दिउँसोसम्म ९७१ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन भएको छ ।

त्यसमध्ये ३०२ जनाको पीसीआर जाँचको नतिजा आउन बाँकी रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट टेसिङको कार्य सकिएको जानकारी दिएका छन् । अहिले स्थानीय तहको समितिको सिफारिस र जिल्ला स्तरीय समितिको निर्णयका आधारमा सङ्क्रमण देखिएको क्षेत्रभन्दा बाहिर पनि स्वाब सङ्कलन सुरु भएको छ, जिल्ला स्वास्थ्य कार्यालयका फोकलपर्सन श्रेष्ठले भने– नेपालगञ्जका ग्रामीण क्षेत्रबाहेक कोहलपुर र खजुरामा पनि स्वाब सङ्कलन भएको छ । यसैबीच नेपालगञ्जमा कोरोना सङ्क्रमित देखिएका सबै २४ जनाको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ ।

भेरी अस्पताल नेपालगञ्जका फिजिसियन डा. पारस श्रेष्ठले सङ्क्रमितमा हालसम्म कुनै पनि लक्षण नदेखिएको जानकारी दिएका छन् । अलपत्रलाई ल्याउन आग्रह भैरहवा समाचारदाता लक्ष्मण पौडेलका अनुसार रूपन्देहीमा क्रियाशील राजनीतिक दलले नेपाल–भारत सीमा तथा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउनुपर्ने माग गरेका छन् । उनीहरूले सीमामा अलपत्र नागरिकलाई आधिकारिक बाटो खोलेर स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राख्न सरकारसँग माग गरेका छन् । नेपाली काँग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकको अध्यक्षतामा भैरहवामा बसेको सर्वदलीय बैठकले अलपत्र अवस्थामा रहेका नेपालीहरूलाई स्वदेश ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।

कोरोनासँगै डेङ्गुविरुद्धको अभियान
बुटवल समाचारदाता छवि पाण्डेका अनुसार बुटवलमा कोरोना भाइरसका कारण जारी लकडाउनले जनजीवन अस्तव्यस्त भएको बेला बढ्दो गर्मीसँगै डेङ्गु रोगविरुद्धको अभियान सुरु भएको छ । डेङ्गुका बिरामी बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरूमा स्वास्थ्यकर्मी तथा स्वयंसेवकमार्फत डेङ्गु रोगविरुद्ध अभियान चलाएको हो । उपमहानगरले स्थानीय विपद् व्यवस्थापन समिति र त्यस मातहतका समुदायस्तरका संयन्त्रलाई डेङ्गु रोगबाट जोगिने उपाय अवलम्बन गर्दै अभियानमा सामेल गराएको उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिएका छन् ।
परीक्षण पुनः सुरु
प्युठान समाचारदाता सुजल श्रेष्ठका अनुसार जिल्लामा आरडीटी किट आएपछि परीक्षण पुनः सुरु भएको छ । स्वास्थ्य कार्यालय प्युठानमा थप तीन सय आरडीटी किट प्राप्त भएको ¥यापिड रेस्पोन्स टिमका फोकल व्यक्ति पुष्कल श्रेष्ठले जानकारी दिएका छन् । तीन सय किट प्राप्त भएसँगै आजैदेखि क्वारेन्टाइनमा बसेका व्यक्तिको परीक्षण सुरु गरिएको उनले जानकारी दिएका छन् । भीडभाडले त्रास
तानसेन समाचारदाता रेखिराम रानाका अनुसार जिल्ला सदरमुकाम तानसेनमा बैङ्क तथा वित्तीय सङ्घसंस्था खुलेपछि मानिसको चहलपहल बढेको छ । सदरमुकाममा तानसेनमा रहेका २० भन्दा बढी बैङ्क तथा दर्जनभन्दा बढी सहकारी संस्था खुलेपछि लकडाउनको उल्लङ्घन भएको गुनासो बढेको छ । सरकारले बैङ्क तथा वित्तीय सङ्घसंस्थाले भौतिक दूरी कायम गरेर कारोबार गर्न सक्ने गरी खुलाएपछि तानसेनमा मानिसको भीडभाड बढेको स्थानीय बासिन्दाको भनाइ छ । बैङ्कमा बढेको भीडभाडले कतै कोरोना सङ्क्रमण हुने हो कि भन्ने चिन्ता थपिएको तानसेनका स्थानीय बासिन्दा हिराबहादुर उदासले बताएका छन् ।
कोषलाई सहयोग
रुपन्देही समाचारदाता भुवन कार्कीका अनुसार तिलोत्तमा वडा नंं. ११ को गणेशनगर टोल विकास संस्थाले नगरपालिकाको विपद व्यवस्थापन कोषलाई ५१ हजार रुपियाँ प्रदान गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका नगरबासीलाई राहत दिने उद्देश्यले नगरपालिकाले स्थापना गरेको कोषमा गणेशनगर टोल विकास संस्थाले सहयोग गरेको हो ।
टोल विकास संस्थाका अध्यक्ष टेकसिंह थापा, आर्थिक संयोजक नवराज पाण्डे पाण्डे, सदस्य गोमा ढकाल सहितको टोली नगरपालिका कार्यालय पुगेर नगर प्रमुख बासुदेव घिमिरेलाई ५१ हजार रुपियाँको चेक प्रदान गरेको संस्थाका सचिव गोविन्द पौडेलले जानकारी दिएका छन् ।
सबैको रिपोर्ट नेगेटिभ
परासी समाचारदाताका अनुसार पश्चिम नवलपरासीमा स्वाब नमुना सङ्कलन गरी कोरोना भाइरस जाँच गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । नवलपरासीका सुनवलदेखि सुस्तासम्मका सातवटै स्थानीय तहमा कोरेन्टाइनमा राखिएका, विदेशबाट आएका एवं क्वारेन्टाइनबाट घर फर्केका गरी दुई सय सात जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।
ती सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले बताएका छन् ।
श्रम गर्नेलाई राहत
तम्घास समाचारदाताका अनुसार गुल्मीको मालिका गाउँपालिकाले जनश्रमदान गर्नेलाई मात्र राहत दिने भएको छ । पालिकाभित्र रहेका अति विपन्न परिवारहरूले राहत पाउन तीन दिनसम्म जनश्रमदान गर्नुपर्ने नियम बनाएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिएका छन् । उनीहरूले तीन दिनसम्म गोरेटो बाटो निर्माण गर्ने, पानीका पँधेरा सरसफाइलगायत बाटोका नालीहरू बनाउने र सार्वजनिक काममा लगाइने गाउँपालिकाले जनाएको छ ।

परीक्षणको दायरा बढाइँदै
देउखुरी समाचारदाताका अनुसार दाङसँग सीमा जोडिएका बाँके र कपलिवस्तुमा कोरोना सङ्क्रमण देखिन थालेपछि दाङमा परीक्षण दायरा बढाउन थालिएको छ । जिल्लाका औद्योगिक क्षेत्रमा कार्यरत मजदुर, शङ्का लागेका व्यक्तिहरूलाई लक्षित गर्दै पीसीआर माध्यमबाट परीक्षणको दायरा बढाउन थालिएको जिल्ला जनस्वस्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्