Logo

सेयर बजार आजदेखि खुल्दै



काठमाडौं, ३० वैशाख । डेढ महिनाभन्दा बढी बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण बढ्न नदिन बन्दाबन्दी घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जले मङ्गलबारदेखि सेयर बजार सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङगलबारदेखि सेयर बजार पुनः सञ्चालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डको निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुल्न लागेको हो । बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा ९बिहान ११ः०० देखि १ः०० बजेसम्म० सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ । धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गरिने बताइएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्