महेश कुमार श्रेष्ठ
१. बिषय प्रबेश : डा. योगि बिकाशानन्द (Bikasananda) ज्युको (How to Influence Other Forever) अर्थात अरुलाई सधै कसरी प्रभाव पार्ने भन्ने बिषयको प्रबचनको आधारमा उहाका अनुसार, उहालाई पहिले देखिनै शब्द प्रति माया, मोह र प्रेम सवार भएको कारण “सफलताको बिज्ञानको” बारेमा अध्ययन र खोज गर्ने क्रममा सबैभन्दा ठूलो कुरा संचार (Communication) मा ठोक्किन पुग्नु भयो । परिणामस्वरुप उहाको भनाईमा, कुनैपनि क्षेत्रको बिकास तथा सफलता प्राप्तिमा हामिमा भएको शब्द, ज्ञान,अनुभब र उक्त कुरा एक अर्कालाई बुझाउन र बुझ्न सक्ने अर्थात आदन- प्रदान गर्न र गराउन सक्ने संचारको तरिकामा भर पर्दछ। मतलव संचार त्यस्तो हुन पर्यो जसले एक अर्काले भनेको कुरा बुझन र बुझाउन सक्नु पर्यो । एकले अर्कालाई बुझाउने र बुझ्ने कुरा अत्यन्तै गाह्रो छ त्यसैले हामी सबै सफल हुनत खोज्छौ तर यसै कुरामा मार खाईरहेका छौ ।
शब्द र संचारको बारेमा शब्दकोषमा निम्नानुसार अर्थ्याईएको पाईन्छ; क. Word: शब्द; [सं] (१.) अनुभूत विषयवस्तुलाई व्यक्त गरिने वर्णात्मक वा ध्वन्यात्मक ध्वनि; आवाज। (२.) वर्ण वा वर्णसमूहबाट बनेको कुनै अर्थ बुझाउने ध्वनि; सार्थक पद; लबज। ख. communication: संचार; समाचार; सुचना आदान प्रदान; संपर्क; सञ्चारण; सूचना; प्रज्ञापन; सम्प्रेषण।
२. लेखनको उ्द्धेश्य : कुनैपनि क्षेत्रको सफलता र बिकासमा शब्द, ज्ञान, अनुभव र संचारको अपरिहार्यतालाई प्रश्ट्याउदै अरुलाई सधै प्रभाव पार्ने तरिकाको जानकारी गराउनु हो ।
३. आपसि सहयोग : सफलता एकलै कहिले पनि प्राप्त गर्न सकिदैन। यसको प्राप्तिको लागि धेर वा थोर आपसि सहयोगको आवश्यक्ता पर्दछ । त्यो सहयोग तब मात्र प्राप्त हुन्छ जब हामी संग प्रशस्त शब्द, ज्ञान र अनुभवका साथै राम्रो संग अरुलाई बुझाउन,बिश्वास दिलाउन, र प्रभाव पार्न सक्ने संचार क्षमता हुन्छ । उदाहरणको लागि ; एउटा श्रीमान् र श्रीमतीको सफलतामा एक अर्कामा माया र बिश्वास दिलाउने शब्द, ज्ञान र अनुभवको साथै त्यो भन्दा बढि संचार तथा बार्तालाप गर्ने तौर तरिकामा भर पर्दछ। त्यस्तैगरि एउटा ब्यापारिको सफलता उसको ग्राहकमा, एउटा राजनितिज्ञको उसको कार्यकर्ता तथा मतदातामा, एउटा छोरा-छोरिको उसको बाबा-आमामा अन्तरनिहित रहेको हुन्छ ।
४. शब्द, ज्ञान र संचार: तसर्थ हामिले बुझ्न पर्ने महत्वपुर्ण कुरा के हो भने हामिमा शब्द ज्ञान भएर मात्र पनि सफलता हाशिल हुदैन । जब हामिले एक अर्कालाई आफुले भन्न खोजेको कुरा राम्रो संग बुझ्न र बुझाउन, आदन-प्रदान गर्न गराउन, वा संप्रेषण गर्न सकेनौ भने एक आपसमा झगडा, असमझदारी, अबिश्वास, द्वेष , अन्तरकलह, मनमुटाव र द्वन्द्व बढ्न जान्छ । फलस्वरुप एक अर्कोमा आपसि सहयोग प्राप्त हुन नसकि सफलता र बिकास प्राप्ति गर्न सकिँदैन ।
५. सम्बन्ध र संपर्क : दुनियामा कम साथि भाइ भएका, त्यति धेरै नखुल्ने, हाई हलो नगर्ने, चिनेका मान्छेसंग तर्किएर हिड्ने, बोल्न डराउने आदि मानिसहरु बढि मात्रामा असफल हुन्छन् । त्यसको बिपरित जो मान्छे धेरै संग संबन्ध राख्छ, खुलेर दुख- सुखको कुरा गर्छ, नम्र र भद्र व्यवहार गर्छ , सवैको लागि सुलभ र बिश्वासिलो हुन्छ भने उसंग धेरैजना परिचित साथिभाईहरु हुनाका साथै संपर्क पनि राम्रो हुने भएकोले सहयोग प्राप्तभै सफलता हाशिल गर्न सक्दछ ।
६. हल्का र बिनयता : सफलता प्राप्ति एकलैले हुन सक्दैन । जसको भरपर्दो संजाल छैन उस्ले सफलता कसरी प्राप्त गर्न सक्दछ? सफलता प्राप्त गर्नु भनेको माथि उठ्नु हो त्यो भनेको अरुको कांध माथि चढेर उठ्नु हो । जो हल्का छ उस्लाई सबैले उचाल्छ । हामी हाम्रो टाउकोमा फुल राख्छौ कि ढुङ्गा ? अबश्य फुल जुन हल्का हुन्छ र सहज हुन्छ । त्यसैले फुल जस्तो हलका भएर देखाउनुहोस त । मलाई केही थाहा छैन दाइ, मेरो लागि सवै हजुरनै हो भनी हल्का हुनुहोस् त उसले तपाईलाई बोक्छ । त्यसको बिपरित त भन्दा म जान्ने, मैले सवै जानेको छु, बुझेको छु , म नै सर्वेसर्वा हो भनी घमण्डि गरि आफ्नो वजन बढाउने प्रकारले संचार संप्रेषण गरियो भने कसैले कांध पनि थाप्दैन र सहयोग पनि गर्दैन । एउटा संस्कृत शब्द ; ” बि्द्धा ददति बिनयम: ” अर्थात बिद्धाले हामिलाई हल्का बनाउदछ । त्यसैले राम्रो संचारको लागि शब्द र ज्ञान को साथै विनयता हुनुपर्यो जुन कुराको अभाबमा हामिले अरुहरुलाई बुझाउन सकिरहेका छैनौं । हामी खालि ब्यक्तिगत स्वार्थहरु; पैसा, सुबिधा, पद,कुर्चि,तरुनी, जांड-रकसि आदिका पछाडि लाग्छौ भने कहाबाट शब्द र ज्ञान आउछ र सफलता प्राप्ति हुन्छ त ?
७. शब्दको महिमा बौद्धिक्ता र चेतना संग अन्तरसम्बन्धित:अमेरिकाको बैंकको उदाहरण; कुनै एउटा बैंकको बोस र सहायक कर्मचारिको बिचमा समान उमेर, समान शिक्षा, समान समय अबधि सम्म काम गर्छ तर बोसको तलव करिव १० लाख भन्दा बढि र सहायक कर्मचारिको करिव १० हजार मात्र किन? भनेर पछि खोज हुदा परिणाम बोसलाई बढि शब्द, ज्ञान, अनुभव र आइडिया भएकोले बढि तलब दिएको पाईयो । त्यस्तै एउटा गाडिको विभिन्न सामानहरुको बारेमा चालकलाई बढिमात्रामा शब्दको ज्ञान हुन्छ, तर प्यासेन्जर लाई गाडिको बारेमा शब्दको ज्ञान धेरै थाहा हुदैन जसको कारण उसले गाडि चलाउदैन । शब्दको संयोग ज्ञान तथा अनुभव संग हुन्छ। शब्दको महिमा चेतना र बौद्धिकता संग अन्तरसम्बन्धित हुन्छ ।
८. अनुभबहरु संगालेर शब्दमा बाधि राख्नु: गन्ति गर्ने सम्बन्धमा उदाहरण ; हाम्रा गाउँ घरका मानिसहरुलाई अझैपनि अशिक्षाको अर्थात शब्द र ज्ञानको कमिको कारण २० भन्दा बढि गनणा गर्न आउदैन । त्यसैले ४० लाई दुई बीस, ६० लाई तीन बीस, ८० लाई चार बीस र १०० लाई ५ बीस भन्छन् । उहाहरु न अरु कसैको कुरा बुझ्नु हुन्छ न बुझाउन सक्नु हुन्छ त्यसैले अरुले सहयोग पनि गर्दैन र बिकास पनि हुदैन । हामी कथित पढेलेखेका भनाउदाहरुलाई पैसा गन्न खरब सम्म आउला त्यो भन्दा माथि ५ खरब,५०० खरब र १००० खरव सम्म भन्न सकिएला त्यो भन्दा माथि गन्न हामिलाई आउदैन । तर त्यहि गन्न बैज्ञानिकलाई चै राम्ररि आउछ किनभने उनिहरुले गिन्ति गर्ने विभिन्न बैज्ञानिक प्रणालीको बिकास गरेका हुन्छन् । त्यसैले संसारमा सवैलाई शासन गर्ने बैज्ञानिकहरुनै हुन । उनिहरुले भनेका कुराहरुलाई सबैले मान्दछन र बिश्वास पनि गर्दछन। उनिहरु संग शब्द छ त्यो नै ज्ञान हो जुन अनुभव बाट आउछ। हामीमा पनि विभिन्न अनुभबहरु छरिएर रहेका हुन सक्दछ जसलाई बांधने शब्दको सामर्थ्य हुनुपर्दछ । अनुभबलाई बाध्ने झोला चाहिन्छ त्यो शब्द हो । यदि हाम्रो अनुभबलाई झोलामा राखि शब्दले बाध्न सकिएन भने हामिमा ज्ञान नहुने र जसको अभावमा प्रभावकारि संचारद्वारा बुझ्न र बुझाउन सकिँदैन ।फलस्वरुप कुनै पनि कार्यमा असहयोग हुन गई सफलता र बिकाशमा अबरोध खडा हुन सक्दछ।
९. अल्वर्ट मेहराविनको शिद्धान्त: उहाले संचार सम्प्रेषण गर्ने यस्तो शिद्धान्त वा प्रणालि पत्ता लगाउनु भयो जसलाई निम्नानुसार वर्णन गरिएको छ; क. सात(७)प्रणालि; जस अनुसार, अरुसंग कुरा आदान-प्रदान गर्दा प्रयोग गरिने शब्दले ७% मात्र अर्थ बहन गर्दछ।
ख. अड्तिस(३८); प्रणालि; जसअनुसार कसरी भनिन्छ? विभिन्न परिस्थिति अनुसार भन्ने तरिकाहरु जस्तै; नम्र, बिनयता, कराएर, थर्कायर,हेपेर, हांसेर आदि शब्दलाई जोड दिने तरिकाले ३८% मात्र अर्थ बहन गर्दछ।
ग. पचपन्न(५५); हात,मुख,शरीर चलाएर शब्दको प्रयोग अर्थात “बडि ल्याङ्ग्वेज” ले ५५% अर्थ बहन गर्दछ । त्यसतै शब्द “टोन्यालिटि” ले पनि अर्थ बहन गर्दछ। यसप्रकारले शब्द प्रयोग गरिएमा कसैले पनि मन्त्रमुग्ध भएर कुराहरु सुन्न सक्दछ।
१०. निश्कर्ष: शब्द अभावमा हामी लाटो जस्तै हुन्छौ जसले प्रभावकारि संचार(Communication) सम्प्रेषण गर्न सकिँदैन र एक अर्कालाई भन्न खोजिएका कुराहरु बुझाउन सकिँदैन फलस्वरुप कुनैपनि क्षेत्रमा सफलता र बिकास प्राप्त गर्न सकिँदैन। शब्द छ तर त्यसलाई संप्रेषित गर्ने “बडि ल्याङ्ग्वेज र टोनालिटि छैन भने पंचर भएको टायर जस्तो हुन्छ। तसर्थ हामिले हामी संग भएका अनुभबहरुलाई एउटा दिमागरुपि झोलामा संगालेर राखि शब्दरुपि धागोले बांधेर राख्नु पर्दछ। जसले गर्दा हामिलाई अधिक ज्ञान प्राप्त हुन्छ र विभिन्न “बडि ल्याङ्ग्वेज, टोनालिटि, तथा हाउभाउले उक्त शब्द र ज्ञान अरुलाई राम्रो संग संप्रेषित गरि बुझाउन सक्दछौ जसबाट हामीलाई बाह्य सफलता र बिकास प्राप्त हुन्छ। आन्तरिक सफलताको लागि मनलाई शान्त बनाईराख्नु पर्ने हुन्छ जुनकुरा अध्यात्मिक ज्ञान, ध्यान,योग आदि बाट हाशिल गर्न सकिन्छ ।
११. सन्दर्भ सामाग्रिहरु:
क. डा.योगि बिकाशानन्दज्युको ” How To Influence Other Forever”बिषयमा सम्प्रेषित प्रवचन ।
ख. नेपाली शब्दकोष ।
ग. English Dictionary ।
( लेखक श्रेष्ठ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक(अ.प्रा.) हुन । )