Logo

पहुँचवालालाई मनलाग्दी पास, ज्यानको जोखिममा राजधानीबासी



काठमाडौं, बैशाख ३१ । लकडाउन उल्लंघन गर्दै जथाभावी मानिस भित्रिन थालेपछि काठमाडौं उपत्यका कोरोना भाइरसको जोखिममा परेको विज्ञले औंल्याएका छन्। पछिल्लो साता कोरोना भाइरस फैलिएका ठाउँबाट धेरै मानिस काठमाडौं उपत्यका भित्रिएपछि संक्रमणको खतरा बढेको हो। मंगलबार काठमाडौंमा एक र भक्तपुरमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रशासनले पहुँचवालालाई मनलाग्दी पास वितरण गरेपछि उपत्यकाका सडकमासमेत सवारीसाधनको जाम देखिन थालेको छ। आवश्यकताभन्दा पनि दबाब र प्रभावमा राजनीतिक दलका कार्यकर्ता र व्यापारीलाई पास वितरण गरिएकाले सडकमा गाडीको जाम हुन थालेको हो।

बिनाप्रोटोकल बिहानको समयमा पसल खोल्न दिने सरकारी निर्णयले फुटपाथमा पनि भीड लाग्न थालेको छ। यी विविधि कारणले उपत्यका संक्रमणको जोखिममा परेको हो ,

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले कोरोना संक्रमित जिल्लाबाट आउने व्यक्तिहरु दिनदिनै बढेकाले काठमाडौं उपत्यका कोरोनाको उच्च खतरामा रहेको बताए। उनले कोरोना संक्रमित जिल्लाबाट काठमाडौं उपत्यका छिरेकालाई क्वारिन्टिनमा राख्ने व्यवस्था नहुने हो भने यहाँ पनि कोरोना फैलिन सक्ने बताए।

‘पछिल्लो समय कोरोना संक्रमित बढी देखिएका जिल्लाबाट धेरै मानिस काठमाडौं प्रवेश गरेको देखिन्छ। उनीहरूलाई निगरानीमा राखेर परीक्षण नगरे संक्रमण फैलिने सम्भावना प्रबल छ’, कार्कीले भने, ‘काठमाडौंमा हरेक क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड निर्धारण गरी कडाइका साथ पालना गराउनुपर्छ तर यसतर्फ काम गर्न ढिलाइ भइसकेको छ। यसमा सरकारले विशेष ध्यान दिनुपर्छ।’

कोरोना भाइरस संक्रमण फैलिएका ठाउँबाट धेरै मानिस काठमाडौं उपत्यका भित्रिएपछि संक्रमणको खतरा बढेको हो।

एकबाट अर्को जिल्ला प्रवेशमा कडाइ गर्न सके कोरोना नियन्त्रण गर्न सकिने उनको बुझाइ छ। लकडाउन तहगत रुपमा खोल्न सुझाव दिँदै कार्कीले जथाभावी मानिसको भीड लाग्न थालेकाले नियामक निकायको ध्यान त्यसतर्फ जानुपर्ने उनले बताएको नागरिक दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्