Logo

भाडा मिनाहा गर्न तयार छैनन् घरधनी



काठमाडौँ, ३१ वैशाख । घरभाडामा लिएर व्यापार व्यवसाय गर्ने र डेरा लिएर बसेकाहरू यतिबेला निकै तनावमा छन् । बन्दाबन्दीले व्यवसायमा असर परेकाले यस अवधिमा घरभाडा छुट तथा मिनाहा गर्न घरधनीहरूलाई सरकारले अनुरोध गरे पनि केही मनकारी घरधनीले मात्र मिनाहा गरिदिएका छन् ।

घरधनीको पीडा
दैलेख समाचारदाताका अनुसार दैलेखका घरधनीले कोरोना भाइरसको प्रभाव भाडामा बस्नेलाई मात्र नभएर आफूहरूलाई पनि परेको भन्दै घरभाडा मिनाहा गर्न नसकिने बताएका छन् । नारायण नगरपालिका–६ का विष्णु अधिकारीले बैङ्कबाट ऋण लिएर घर बनाएकाले ऋण बुझाउनका लागि भाडा लिनुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन् । विद्यार्थी रामबहादुर विकले बन्दाबन्दी अवधिको भाडा घरधनीले मिनाहा गरेको भए आफूहरूलाई राहत हुने बताएका छन् ।
स्वेच्छिक आह्वान
सल्यान समाचारदाताका अनुसार सल्यानमा पनि घरबेटीले बैङ्कबाट ऋण लिएर घर बनाएकाले घरभाडा छुट गर्न नसकिने तर्क गरेका छन् । शारदा नगरपालिका–१ श्रीनगर बजारका टीकाराम रोकाले भाडा छुट वा मिनाहा गर्न नसकिने स्पष्ट गरेका छन् । अर्का घरधनी वीरेन्द्र श्रेष्ठले बैङ्कले ऋणको ब्याज मिनाहा गरिदिए घरभाडा छुट दिन तयार रहेको बताएका छन् । खलङ्गाका लोकबहादुर डाँगीले भाडामा बस्ने कर्मचारीले मासिक तलब बुझ्ने भएकाले डेराभाडा छुट दिन नसक्ने बताएका छन् । व्यवसायी डम्बर केसीले व्यापार व्यवसाय ठप्प भए पनि घरभाडा तिर्नुपर्ने बाध्यता भएको गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले घरधनीलाई स्वेच्छिक रूपमा घरभाडा छुट वा मिनाहा गरिदिन आह्वान गरिएको बताएका छन् ।
मनकारीले मिनाहा
वीरेन्द्रनगर समाचारदाताका अनुसार सुर्खेतमा केही मनकारी घरधनीले भाडा मिनाहा गर्न थालेका छन् । वीरेन्द्रनगर–४ भैरवस्थानका कृष्णा गौतमले बन्दाबन्दी भएको ५० दिन पुगिसक्दा पनि आफूले मासिक रूपमा लिँदै आएको ५० हजार रुपियाँ नलिएको बताएका छन् ।
सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले घरभाडा मिनाहाका लागि अहिलेसम्म त्यस्तो केही निर्णय नभएको बताएका छन् ।  वीरेन्द्रनगर नगरपालिकाले जनप्रतिनिधिले आफ्ना घरमा भाडामा बसेकाबाट भाडा नलिने निर्णय गरेको छ । नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले सबै धरधनीलाई भाडा मिनाहा गर्न सार्वजनिक रूपमै अपिल गरिएको बताएका छन् ।

घोषणा गरेनन्
जुम्ला समाचारदाताका अनुसार चन्दननाथ नगरपालिकाका–६ का वडाध्यक्ष मीनबहादुर डाँगीले सदरमुकाममा रहेको घरको एक महिनाको घरभाडाबापतको साढे ३१ हजार रुपियाँ मिनाहा गरेको छ । हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले पनि खलङ्गामा रहेको घरभाडा नलिने घोषणा गरिएको छ । जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले काठमाडौँमा रहेको आफ्नो घरको भाडा नलिने घोषणा गरेको छ । खलङ्गाका घरधनीहरूले भाडा नलिने भनेर घोषणा गरेका छैनन् ।

ऋण काढेर भाडा
जाजरकोट समाचारदाताका अनुसार घरधनीहरूले बैङ्कबाट ऋण लिएर घर निर्माण गरेकाले किस्ता तिर्न नै धौ–धौ परेका कारण घरभाडा छुट दिन नसकिने बताएका छन् । भेरी नगरपालिका–३ ठाँटी बजारका व्यवसायी कालीबहादुर घर्तीले बन्दाबन्दीले व्यापार ठप्प हँुदा घरभाडा तिर्न मुस्किल परेको बताएका छन् । अर्का व्यवसायी हेमन्तकुमार खत्रीले व्यवसाय बन्द भएको तर घरधनीले घरभाडा छुट नदिँदा ऋण काढेर भाडा तिर्न बाध्य भएको गुनासो गरेका छन् । घरधनी वागेश्वरी डाँगीले घर बनाउँदा लिइएको बैङ्कको ऋणको किस्ता तिर्नका लागि पनि घरभाडा छुट दिन नसकिने बताएका छन् ।
सोध्दा हकार्छन्
कालीकोट समाचारदाताका अनुसार कालीकोटका घरधनीले घरभाडा छुट नदिने बताएका छन् । घरधनी बजुरे खड्काले सरकारले आफूहरूलाई बैङ्कमा व्याज तिर्न राहत उपलब्ध नगराएकाले घरभाडा छुट दिन नसकिने बताएका छन् । विभिन्न बैङ्क तथा वित्तीय संस्थालाई पनि भाडामा राखेका घरधनीले कसैलाई पनि घरभाडा छुट दिन नकिने बताएका छन् ।

बैङ्कले किस्ता नलिने हो भने आफूहरूले भाडा लिँदैनौ भन्दै घरधनीहरूले किस्ता तिर्नका लागि पनि भाडा लिनुपर्ने बताए । व्यापार नभए पनि भाडा तिर्नुपर्ने पीडा व्यवसायीहरू सुनाउँछन् । व्यवसायी लक्ष्मी ढुङ्गानाले आफ्नो घरबेटीसँग भाडा छुट हुन्छ कि भनेर सोध्दा घरबेटीले आफूलाई हकारेको गुनासो गरेका छन् ।
कार्यान्वयन भएन
हुम्ला समाचारदाताका अनुसार घरबहाल छुटबारे सहजीकरण नहुनु र घरमा बस्नेले पनि भाडा छुटका बारेमा जानकारी नपाउनुले सरकारको घरभाडा छुटका लागि गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन । उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाम्ग्याल तामाङले हालसम्म बन्दाबन्दीका बेला कसैबाट पनि घरबहाल छुटको व्यवस्था नभएको बताएका छन् । कतिपयलाई सरकारले अहिलेको परिस्थितिमा घरबहाल छुटमा गरेको अनुरोधबारे पनि जानकारी नभएको पाइएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हुम्ला उपशाखाको घरधनीले भने कम्पनीले घर बहालमा छुटका लागि अनुरोध गर्दा चैत महिनामा ५० प्रतिशत छुट दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्