Logo

आफ्नै सुरक्षामा खटिएकाहरुसँग डराउन थाले नेताहरु



काठमाडौं, ३१ वैशाख । कोरोना भाइरस फैलनु अघिसम्म राजनीतिक दलका नेताहरुको पहिचान सुरक्षाकर्मीको लावालस्कर पनि थियो । जसले जति बढी सुरक्षाकर्मी अगुवा र पछुवा राखेर हिंड्न सक्यो उसको उति नै प्रभाव छ भन्ने ठानिन्थ्यो ।

पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्रीहरुमध्ये अगुवा पछुवा नलिई हिंडदैन थिए । घरभरी सुरक्षाकर्मी राख्ने परम्परा नै बसिसकेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उनीहरुको सुरक्षाका लागि खटाइएको थियो । सरकारले तोकेको भन्दा बढी संख्यामा सुरक्षाकर्मी राखेर नेताहरुले आफ्नो प्रभाव देखाउने बानी परिसकेको थियो ।

तर, अहिले समय बदलिएको छ । नेताहरु आफ्नै अंगरक्षक र सुरक्षामा खटिएकाहरुबाट डराउनुपर्ने भएका छन् । कोरोना भाइरसको महामारी नेपालमा फैलन थालेपछि नेताहरु आफ्नै सुरक्षामा खटिएकाहरु कतै कोरोना भाइरसको संक्रमित त छैनन् भनेर डराउन थालेका हुन् ।

हिजो भक्तपुर दुवाकोटमा अस्थायी बसोबास गर्ने २७ वर्षीय पुरुष पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएकामध्येका सशस्त्र प्रहरी जवान भएको खुलेको छ । यसले नेताहरुलाई झन् त्रसित बनाएको छ । रावलले घरबिदामा एक महिनाअघि गएका ती जवानलाई कोरोना टेष्ट गरी मात्र आउन भन्दा टेष्टका क्रममा कोरोना संक्रमण पत्ता लागेको थियो ।

पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आज आफ्नो सुरक्षामा खटिएकालाई फिर्ता लैजान भनेका छन् । उनले आफू असुरक्षित नभएको भन्दै फिर्ता लैजान भनेका हुन् । तर, यति लामो समयसम्म उनले फिर्ता लैजान भनेका थिएनन् । आज आएर यसो भन्नुमा कोरोना भाइरसको संक्रमणको डर पनि कारण हो ।

सशस्त्र प्रहरी बललाई मुख्यत सीमा सुरक्षामा खटाउने गरिएको छ । तर, सीमामा सुरक्षाकर्मीको संख्या पुगेको छैन । गृह मन्त्रालयले नेताहरुको सुरक्षामा खटिएकाहरुलाई सीमामा खटाउने भनेपनि कार्यान्वयन गर्न सकेको छैन । बरु पूर्व मन्त्री, राज्यमन्त्री मात्र नभई सांसद भएकाहरु समेत एक वा एकभन्दा बढी प्रहरी अंगरक्षकका रुपमा लिएर हिंड्ने गरेका छन् ।

अगुवा र पछुवा सुरक्षाकर्मी राखेर हिंड्नेमा अग्रपंक्तिमा पूर्व राजा ज्ञानेन्द्र शाह छन् । उनको सुरक्षामा एक सय जना सशस्त्र प्रहरी खटिएका छन् । नेकपा अध्यक्ष प्रचण्डको सुरक्षामा ४८, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा १४, माधवकुमार नेपाल १३, लोकेन्द्रबहादुर चन्द १०, झलनाथ खनाल ९, डा. बाबुराम भट्टराई ८, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको सुरक्षामा ९ जना सशस्त्र प्रहरी खटिएका छन् ।

सीमा सुरक्षाका र सीमा जोगाउने विषयमा चर्का कुरा गर्नेहरुले नै बढी सुरक्षाकर्मी राखेर बसेका छन् । पूर्व गृहमन्त्रीहरु बामदेव गौतम र कमल थापा १३-१३, नारायणकाजी श्रेष्ठ १२, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि ११-११, रामचन्द्र पौडेल १०, जर्नादन शर्मा १०, भीम रावल ९, विजयकुमार गच्छेदारले ३ जना सशस्त्र प्रहरी राखेका छन् ।

कोरोना संक्रमण बढेपछि यति ठुलो संख्याका सुरक्षाकर्मी अगुवा र पछुवा राखेकाहरु सामाजिक दुरी कायम गर्नुपर्ने अवस्थाले डराएका हुन् । बढी भीडभाड हुँदा जोखिम बढ्ने देखिएकाले उनीहरुमा त्रास बढेको बुझिएको छ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्