Logo

प्रदेश नं २ मा सङ्क्रमित बढ्दै गएपछि सिरहामा निषेधाज्ञा जारी



लहान, १ जेठ : प्रदेश नं २ मा कोरोना सङ्क्रमतिको सङ्ख्या दिनहुँ बढ्दै गएपछि सिरहामा निषेधाज्ञा जारी गरिएको छ ।

पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको सिरहा जिल्लालाई सुरक्षित राख्न आजदेखि निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना सङ्क्रमितको सङ्ख्या प्रदेश नं २ मा बढ्दै गएका कारण जोखिम बढ्ेकाले अर्काे सूचना नआएसम्मका लागि निषेधज्ञा जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिनुभयो । सङ्क्रमण थप फैलिन नदिन यस्तो कदम चालिएको उहाँले बताउनुभयो । केही दिनदेखि खुकुलो पारिएको लकडाउन आज बिहानदेखि कडा पारिएको छ ।

अर्काे जिल्लाबाट आउनेबिना पासका सवारी साधन तथा पैदलयात्रीलाई फिर्ता पठाउन र लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रण लिई सङ्क्रमण रोग नियन्त्रण ऐनअन्तर्गत कारवाही गर्न प्रहरीलाई निर्देशनसमेत दिएको छ ।

अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्सबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा बन्देज लगाउने निर्णय गरेको छ । यस्तै छिमेकी देश भारतबाट आवतजावत पूर्णरुपमा बन्द गरिएकाले लुकीछिपी नेपाल प्रवेश गरेको पाइएमा त्यस्ता व्यक्तिलाई लुकाउने र लुक्ने दुवैलाई सङ्क्रमण रोग नियन्त्रण ऐनबमोजिम कारवाही गरिने प्रजिअ गुरागाईँद्वारा जारी सूचनामा उल्लेख छ ।

सिरहा जिल्लासँग जोडिएको चारैतिरको नाका बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको समेत प्रजिअ गुरागाईँले बताउनुभयो । उहाँले सिरहा जिल्लासँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले ती जिल्लाबाट हुने आवतजावत रोक्न नाकामा व्यापक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

एक दम्पतीले बाँडे १२५ मजदुर परिवारलाई राहत

सरकारले गरेको लकडाउनको मारमा परेका सिरहाको लहान बजार क्षेत्रभित्रका १२५ विपन्न, गरिब तथा मजदुर परिवारलाई एक दम्पतीले आज बिहान राहत वितरण गरेका छन् । लहान निवासी महेश चौधरी र उहाँकी पत्नी सङ्गीता कर्माचार्यले लहान बजार क्षेत्रमा ठेला, रिक्सा, चियापसल तथा चटपटे पसल गरी जीवन गुजारा गर्दै आएका मजदुर, विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

लहानस्थित एपोलो ॐ स्कुलका सञ्चालक चौधरी र नेपाल महिला सङ्घका केन्द्रीय सदस्य कर्माचार्यले प्रतिपरिवार चामल १० केजी, दाल, नुन र आलु र सोयविनलगायत सामग्री राहत स्वरुप वितरण गर्नुभएको छ । लामो समयदेखि जारी लकडाउनका कारण मजदुरी बन्द हुँदा छाक टार्न समस्यामा परेका विपन्न, मजदुर परिवारलाई राहत वितरण गरिएको चौधरीले बताउनुभयो । ती दम्पतीले लकडाउन भएको पहिलो सातादेखि नै लहानका विभिन्न स्थानमा दैनिक मजदुरी गरीखाने अतिविपन्न परिवारलाई राहत वितरण गर्दै आएका छन् ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्