काठमाडौं, १ जेठ । नेपालमा पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढिरहेको छ । यस्तो अवस्थामा सरकारी र निजी दुवै अस्पतालहरुले उपचारको लागि आवश्यक पूर्व तयारी गर्नुपर्छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको कारण नेपालमा कोरोनाबाट अहिलेसम्म मानवीय क्षति भएको छैन् । सरकारको उक्त कदमको आम नेपाली जनताले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
कोभिड–१९ विरुद्धको लडाईमा निजी अस्पतालहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । सरकारको निर्देशनको पूर्ण पालना गर्दै विरामीको उपचारमा खटिरहेका छन् । सरकारले कोभिड–१९ को उपचारमा चाहिने अत्यावश्यक स्वास्थ्य सामग्रीको राम्रो बन्दोबस्दो गर्न सकेको छैन् । निजी अस्पतालहरूले सरकारबाट पिपिई, मास्कलगायतका स्वास्थ्य सामग्री पाउने अपेक्षा गरेका थिए । तर, सरकारले उनीहरुलाई ती सामग्री उपलब्ध गराउन सकेन् ।
निजी अस्पतालहरूले आफ्नै पहल र खर्चमा हालै चीनबाट पिपिई, एन–९५ मास्क लगायतका कोभिड–१९ विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्री नेपाल ल्याईपुर्याएका छन् । तर, सरकारले आयात कर र भ्याट लिन खोजेपछि ती सामग्री तातोपानी भन्सारमै अड्किएको बुझिएको छ । स्रोतकाअनुसार अहिले निजी अस्पतालका सञ्चालकहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालय धाईरहेका छन् । उनीहरुले यस्तो बेलामा सरकारले सहुलियत दिनुपर्नेमा उल्टै आयात कर र भ्याट लगाएर दुःख दिनु गलत भएको गुनासो समेत गरेका छन् ।
सरकारले कोरोना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्न निजी अस्पतालहरूलाई कडा परिपत्र जारी गरिसकेको छ । निजी अस्पतालहरुले सरकारको निर्देशनलाई पूर्ण पालना गरेर विरामीको उपचारमा कुनै कसर बाँकी राखेका छैनन् । सोहीअनुसार निजी अस्पतालहरुमा आईसोलेशन वार्डसमेत तयारी अवस्थामा छन् ।
आइसोलेसनमा भर्ना भएका बिरामीको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने व्यवस्था पनि सम्बन्धित अस्पतालले नै गर्नुपर्ने सरकारले बाध्यकारी निर्देशन दिएको छ । बरु, सरकारले ती अस्पतालहरूको निगरानी गर्न अनुगमन टोली समेत खटाएको छ । अस्पतालहरूले उपचार गर्न नमाने कारबाही गर्ने सरकारको चेतावनी छ ।
बजारमा ह्याण्ड स्यानिटाईजरसमेत अभाव भएको समयमा सरकारले यस्तो निर्देशन दिँदासमेत निजी अस्पतालहरुले सरकारको निर्देशनको पालना गरेको र विरामीको उपचारमा कुनै बाधा नपुर्याएको कुरा स्पष्ट छ । निजी अस्पतालहरुले आफ्नै खर्च र पहलमा चीनबाट कोभिड–१९ विरुद्ध लड्नको लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउँदासमेत सरकारले कुनै सहुलियत नदिनु दुःखद् हो ।
निजी अस्पतालहरुले ती सामग्री बेच्नको लागि ल्याएको भए कर तथा भ्याट लगाउनु न्यायसंग्त हुनेथियो तर, विरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि प्रबन्ध गर्नको लागि ल्याईएको हुनाले ती सामग्रीमा आयात कर वा भ्याट लगाउन खोज्नु सरकारको गलत कदम हुने कोभिड–१९ विरुद्ध अग्रपँक्तिमा खटिएका चिकित्सकहरुको गुनासो छ ।
पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको र कतिपय अस्पतालका बेडहरु भरिएका समाचार आईरहेका बेलामा निजी अस्पतालहरुले आफ्नै लगानी र पहलमा अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउनु खुशीको कुरा हो । र, ती सामग्रीमा अनावश्यक कर र भ्याट नलगाई सरकारले जतिसक्दो चाँडो ल्याउन दिनु नै देश र जनताको हितमा हुनेछ ।