दीपेश केसी: “पुर्खाले लडेर स्थापित गरेको सीमा अडेर जोगाउनुपर्ने” बेला आएको प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ जेठको सर्वपक्षीय बैठकमा भनेको खबर आयो । उनले देशको प्रधानमन्त्री भइसकेका देखि प्रमुख राजनीतिक दलका नेताहरुलाई बालुवाटारमा बोलाएर अड्नुपर्ने आवश्यकता औल्याए । देशको सीमा जोगाउन कति कठिन रहेछ भन्ने महशुश २१ औं शताब्दीका लोकतन्त्रवादी भनिएका नेताहरुले बल्ल बुझेको हुनुपर्छ । जोगाउन त यति कठिन छ सीमा कोर्न कति कठिन भयो होला ? के सीमा कोर्नेहरुको योगदानको कदर भएको छ ? के उनीहरु सम्मानित दर्जामा राखिएका छन् ? यो प्रश्नको उत्तर नखोजेसम्म हामीले कालापानीको कुरा गर्ने नैतिक धरातल पनि रहने छैन ।
सीमा कोर्ने हाम्रा पुर्खाको अपमान गर्ने अरु कोही नभएर हामी आफै हौं ? यतिसम्मकी हाम्रो राष्ट्रको सीमा कोर्न कुनै योगदान भएको, सीमा बढाउने र सीमा जोगाउने नायकलाई अपमान गर्नेलाई यही देशमा देवत्वकरण गरिएको छ । योभन्दा बिडम्बना अरु के हुनसक्छ ? हामी मात्र आफूलाई सतीले सरापेको भनेर धिक्कारिरह्यौं । वास्तवमा हामीलाई हाम्रै व्यवहार र बैगुनी सोचले सरापिरहेछ । नेपाल एकीकरण गर्ने पृथ्वीनारायाण शाहको अपमान कुन युगमा भयो ? विषम परिस्थितिमा पनि देशको अस्तित्व जोगाएर सीमा बढाउने जङ्गबहादुर राणाको बारम्बार घोर अपमान भयो । जङ्गबहादुर राणालाई ‘बेलायतको बफादार कुकुर’ भन्ने कार्ल मार्क्स यही माटोमा पुजिएका छन् । उनले स्थापित गरेको मार्क्सवादरुपी धर्म यही माटोमा स्थापित छ । कार्ल मार्क्सका तस्बिरहरु सत्ता चलाउने दल र नेताहरुको घर घरमा सजिएका छन् । तर, देश बनाउने पृथ्वीनारायण शाह अपमानित हुनुपरेको छ । उनको शालिक गणतन्त्रकालमा तोडियो । जङ्गबहादुरलाई त राणाशासन ढलेपछि नै अपमान गरियो । उनले स्थापित गरेको सत्ता खराब थियो होला, उनले सत्ता हडप्न चालेको रणनीति खराब थियो होला तर उनले देश जोगाउन र देशको सीमा बढाउन गरेको योगदान बिर्सनु न्यायोचित थिएन ।
अहिले सीमा रक्षाको चर्का कुरा गर्नेहरुमध्ये कतिपय नेताहरुबाट नै नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको अपमान भएको छ । नेपाललाई विषम परिस्थितिमा पनि जोगाउन सकेका जङ्गबहादुर शाहको घोर अपमान यीनै नेताहरुको युगमा भएको हो । कालापानी र लिपुलेकको विषय चर्को रुपमा उठ्दै गर्दा यी दुई महानायकहरुलाई खलनायक सावित गर्न खोजिएको विषय केलाउन जरुरी हुन्छ । यी सबै पछिल्ला कालखण्डहरुमा भएका हुन् । इतिहास बन्दैन मात्र बनाइन्छ पनि । नेपालका गौरवहरुलाई कौरब बनाउने धृष्टता गरिएको छ । पृथ्वीनारायण शाहलाई हिंसाको पर्याय देखाउन खोजियो । जङ्गबहादुर राणालाई कोतपर्वको दैत्यका रुपमा प्रस्तुत गरिरहने भइरहे । इतिहासमा यी महानायकहरुको योगदानको कदर गर्ने हिम्मत समेत गर्दा जोखिममा पर्नुपर्ने अवस्था सृजना गरियो । यस्तो नकारात्मक परिस्थितिका निर्माणकर्ताहरुले आज कुन मुखले कालापानीको रक्षाको भाषा बोलिरहेका छन् ? यो आजको ज्वलन्त प्रश्न हो ।
पश्चिमाहरु पूर्वतर्फ बढ्दै गएको र नेपाल राष्ट्रकै अस्तित्वमाथि संकट परिरहँदा पृथ्वीनारायण शाहले गोरखाको सानो राज्यबाट एकीकरणको शुरुवात गरेका थिए । अढाई सय वर्ष अघि उनले गरेको युद्धको धृष्टताले आज हामीलाई नेपाली भन्ने अवस्था बनाएको छ । तर, कसैको उक्साहटमा हामीले उनलाई जातीय सफायाको धब्बा लगाउने सम्म गर्न पछि परेनौं । कुनैपनि राज्यको सीमा रगतले नै कोरिएको हुन्छ । यो वास्तविकतालाई हामीले कहिले मनन गर्ने र गराउने दायित्व सम्झिएनौं । कार्ल माक्र्स र माओको सिद्धान्तबाट प्रेरित भएको भन्दै नयाँ बनाउन पुरानो भत्काउनुपर्ने विचारको दास बनेर देश निर्माणका योगदानकर्ताहरुको शालिक ढाल्न थालियो ।
जङ्गबहादुर राणाको उदयले नेपालमा राजनीतिक अस्थिरताको चक्रलाई एक हदसम्म अन्त गरिदिएको थियो । दरबारभित्रको अस्थिरताको अन्त जङ्गबहादुरले मच्चाएको कोतपर्वले धेरै हदसम्म पूर्णविराम लगाइदिएको थियो । राजालाई खोरमा थुनिएको बाघमा सिमित पारिदिएको थियो । तिनै जङ्गबहादुरले लखनऊको सिपाही विद्रोह दबाएर अंग्रेजबाट सन् १८६० मा पुरस्कारस्वरुप बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याउन सफल भएका थिए । कर्णाली देखि महाकालीसम्मको यो भुभाग आज नेपालको सबैभन्दा स्रोत सम्पन्न मध्येको हो । तर, तिनै जङ्गबहादुरलाई नेपालको इतिहासले कहिल्यै न्याय गर्न सकेन । पाठ्यक्रममा उनकाबारे भ्रामक र नकारात्मक विषयहरु राखेर बदनाम गरियो । जङ्गबहादुर त्यस्ता शासक हुन् जसको नाम दक्षिण एशियामा मात्र नभई पश्चिमाहरुसम्म पुगेको थियो । रुसका तत्कालिन जारले जङ्गबहादुरलाई भेट्न अघोषित दुत नै पठाएका थिए । मिनायभ नामका ती रुसी नागरिकले तत्कालिन समयमा नेपाल आएर जङ्गबहादुरलाई भेटेको स्मरण लेखेका छन् । जङ्गबहादुरको सामथ्र्यबारे वर्णन समेत गरेका छन् ।
बेलायतले जङ्गबहादुरलाई त्यतिकै भ्रमणको निम्तो गरेको थिएन । जङ्गबहादुरको बेलायत यात्राले त्यतिबेला नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र फैलावट बुझ्न सकिन्छ । नेपाललाई भारतवर्षभन्दा बाह्य जगतसम्म परिचित गराउने जङ्गबहादुर पहिलो शासक थिए । उनी फ्रान्सको समेत भ्रमणमा पुगेका थिए । उनको कुटनीतिक चार्तुयता सीमा विस्तारबाट बुझ्न सकिन्छ । कसैको बोलीले होइन व्यवहार र परिणामबाट क्षमता प्रमाणित हुनसक्छ । जङ्गबहादुरले क्षमता गरेर प्रमाणित गरेका थिए । यस्ता देशभक्त जङ्गबहादुरप्रति न्याय गर्न समेत नसक्ने बरु बदनामीको उदाहरणमा उनलाई देखाउने राजनीतिक नेतृत्वबाट सीमा रक्षा हुनसक्दैन ।
सीमा रक्षाको सस्ता नारा घन्काउने र तारबार राख्ने कुरा सुनाएर पिसाबको न्यानोमा क्षणभर जनतालाई भुलाउनेहरुको बोली र व्यवहारले देश सधै प्रताडित छ । कालापानी छेउ पुगेर मार्चपास गर्नेहरु बेला बेलामा चर्चामा आइरहन्छन् । तर, तिनले अहिलेसम्म अतिक्रमित भुमी फर्काउन कुनै परिणाम दिन सकेका छैनन् । सीमा विवाद राजनीतिक लाभ लिने विषय बनाइरहेका छन् । यतिसम्मकी जिम्मेवार नेताहरुबीच सीमामा तारबार र पर्खाल लगाउनुपर्छ भन्ने होडवाजी नै चलेको छ । यो जनतालाई केही समय दिगभ्रमित पार्ने विषय मात्र हो ।
तारबार र पर्खालले मात्र देशको सीमा जोगिदैन र देश जोगिदैन भन्ने विश्व इतिहासले प्रमाणित गरेको छ । १२ औं शताब्दीमा चेगिँज खाँले वरिपरि पर्खालले घेरिएको शक्तिशाली र समृद्ध बेइजिङ्ग शहरलाई तीन महिना घेरेर ध्वस्त पारिदिएका थिए । सीमा रक्षा र व्यवस्थापनका लागि तारबार र पर्खाल प्रविधिको युगमा आवश्यक पनि पर्दैन । सीमांकनका नयाँ विधिहरु आइसकेका छन् । सीमाञ्चलको जीवनपद्धति र अभ्यासलाई बेवास्ता गरेर लगाइने तारबारको के कुरा सुनाइले पनि अवस्था प्रत्युत्पादक हुनसक्छ भन्ने कुरा काठमाडौंको विलासी जीवन बाँचिरहेका नेताहरुले बुझ्नैपर्छ । जनताको असन्तुष्टि सबैभन्दा खतरनाक हो । यस्ता बोलीले जनता बिष्फोटक रुपमा परिणत हुनसक्छन् ।
भारत र चीन जस्ता विशाल र शक्तिशाली देशहरुको बीचमा रहेको नेपालका लागि सीमाको तारबार भन्दा सीमा रक्षा र व्यवस्थापनका वैकल्पिक उपायहरु छन् । सीमामा तारबार र पर्खालको विषय उठाउनुअघि कुनैपनि जिम्मेवार नेताहरुले देशको भुगोल र इतिहासको गहिरो जानकारी राख्न जरुरी छ । भारतसँगको भौगोलिक निकटता र यथार्थ यो हो कि पर्खाल र तारबार नयाँ संकट निम्त्याउनु हो जसको धृष्टताबारे सोच्नु पनि खतरनाक हुनसक्छ । इतिहासको वास्तविकता यो हो कि उत्तर र दक्षिणसँग राष्ट्रिय स्वार्थ केन्द्रित कुटनीतिक चार्तुयतामात्र सफल भएको छ । भलै कार्ल मार्क्सले बेलायतको बफादार कुकुर नै भनेका किन नहुन्, जङ्गबहादुर राणाले देश जोगाएका थिए सीमा बढाएका थिए । उनले नेपालको ध्वजालाई दक्षिण एशियाबाहिर पनि फहराएका थिए । महानायकलाई खलनायक बनाउने हामीले बेलैमा मनन गरेर इतिहासको बुझाई र पढाईमा परिवर्तन ल्याउनुपर्छ । सच्चा देशभक्तको सम्मान नगरे इतिहासले पनि धिक्कार्नेछ । सीमा जोगाउन अड्न कठिन परिरहेको राजनीतिक नेतृत्वले लडेर सीमा कोर्नेहरुको कम्तिमा अपमान नगरे हुन्थ्यो । सम्मान त तिनलाई समयले गर्ने नै छ ।