Logo

यी १३ सांसद संसदमा छिर्न पाउनेछैनन्



काठमाडौं, २ जेठ । संघीय संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवि भण्डारीले अपरान्ह चार बजे दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । तर कार्यक्रममा १३ जना सांसदहरुले भने प्रवेश नपाउने भएका छन् ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार प्रतिनिधि सभाका ११ जना र राष्ट्रिय सभाका २ जना गरी १३ जना सांसद सहभागी हुन नपाउने भएका हुन्।

“कोभिड १९ को पीसीआर विधिबाट परीक्षण नगर्नु भएका सांसदहरु संसदको बैठकमा सहभागी हुन पाउनुहुन्न,” उनले भने, ‘प्रतिनिधि सभाका ७ जना, राष्ट्रियसभाका दुई जना सदस्यको पीसीआर जाँच नभएकोले उहाँहरू सहभागी हुन पाउनुहुन्न ।’ प्रतिनिधि सभाका नरमाया ढकाल, किशोरसिंह राठौर, जयकुमार राई, कुमारी थेबे, रुबी नाज, सूर्यबहादुर केसी र नागेन्द्र कुमार नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसद बैठकमा हुने छैनन् ।

यस्तै राष्ट्रियसभाका राधेश्याम पासवान र नरपति सुनुवार पनि नीति तथा कार्यक्रममा सहभागी हुन पाउने छैनन् । उनीहरु काठमाडौं बाहिर रहेकोले कोरोना परिक्षण हुन पाएको थिएन । प्रतिनिधि सभाका चार जना सांसदहरु भने विभिन्न मुद्धाका कारण निलम्बनमा परेका छन् ।

विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशमलाल चौधरी, हरिनारायण प्रसाद रौनियार गरी चार सांसद निलम्बनमा छन् । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संघीय संसद भवनमा ३२० जना सांसदहरु मात्रै उपस्थित हुनेछन् ।

नीति तथा कार्यक्रममा सहभागी हुने भएपछि स्वास्थ्यमन्त्रालयमार्फत् राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा नियमित रूपमा उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि स्वाब संकलन गरिसकेको छ । संसद सचिवालयले बैठकमा प्रवेश गर्नु अघि अनिवार्य कोरोना परिक्षणको रिपोर्ट पेश गर्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस्