Logo

लकडाउन विरोधी ब्राजिलका राष्ट्रपति सामु स्वास्थ्यमन्त्री एक महिना पनि टिकेनन्



एजेन्सी, ३ जेठ । ब्राजिलमा एक महिना नपुग्दै स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति जेर बोलसोनारोसँग कोरोना भाइरसको रोकथामको योजनाबारे कुरा नमिलेपछि राजीनामा दिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार राजीनामा दिएका मन्त्री नेल्सन टिचले कारण खुलाएका छैनन् । तर, उनी राष्ट्रपति बोलसोनारोसँग असन्तुष्ट रहेको खुलेको छ । बोलसोनारोले जिम र ब्युटि पार्लरहरुलाई पुनः खोल्न दिएपछि स्वास्थ्यमन्त्री टेच असन्तुष्ट थिए ।

दक्षिणपन्थी राष्ट्रपति बोलसोनारो लकडाउनको विपक्षमा छन् । उनले कोरोना भाइरसलाई सामान्य ठान्ने गरेका छन् ।

यसअघि झण्डै एक महिना अघि लुइज हेनरिक मानडेट्टालाई स्वास्थ्यमन्त्रीबाट हटाइएको थियो । जसका कारण बोलसोनारोको निकै आलोचना भएको थियो ।

ब्राजिल अहिले कोरोना भाइरसको केन्द्रबिन्दु बनिसकेको छ । त्यहाँ २ लाखभन्दा बढी मानिसहरु संक्रमित भएपछि त्रास बढेको छ । १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्