Logo

आरडिटी पोजेटिभ देखिएका तीन जनाको पिसिआर नेगेटिभ



बाँके, जेठ ३ । नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट प्रवेश गरेका आरडिटी पोजेटिभ देखिएका तीन जनाको पिसिआर परीक्षण नेगेटिभ आएको छ ।

शुक्रबार दिउँसो गरिएको आरडिटीमा पोजेटिभ देखिएका तीनै जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा परीक्षण हुँदा गए राति रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवम् कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज जमुनाह नाका भएर नेपाल आएका चार सय ६६ जनाको आरटिडी गरिएको थियो । सो क्रममा तीन जनाको पोजेटिभ देखिएपछि उनीहरुलाई नेपालगञ्जमै आइसोलेशनमा राखेर अन्य नेगेटिभ देखिएकालाई सम्बन्धित जिल्ला र गाउँपालिकाको समन्वयमा सम्बन्धित क्षेत्रमा पठाइएको छ ।

आरडिटी पोजेटिभ देखिएका सुर्खेत, कालीकोट र नुवाकोट जिल्लाका तीन जनालाई शुक्रबार नेपालगञ्ज खजुरारोडस्थित लायन्स डेन्टल अस्पतालमा निर्माण गरिएको आइसोलेशन केन्द्रमा राखिएको छ । पिसिआर रिपोर्ट नेगेटिभ आएकाले सबन्धित जिल्लामा समन्वय गरेर उनीहरुलाई पनि जिल्ला पठाइने श्रेष्ठको भनाई छ ।

सीमावर्ती भारतीय शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपालीलाई बिहीबार राति नेपालगञ्ज ल्याइएको हो । नेपाल प्रवेश गरेका ६८७ नेपालीमध्ये बाँके र बर्दियाका २२१ जनालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको आजदेखि आरडिटी गरिने भएको छ ।

रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामा कोरोना भाइरस महामारी फैलिएपछि घर फर्कँदा सीमा क्षेत्रमा अलपत्र परेका तथा नानपाराका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नेपालीलाई बाँके प्रशासन र भारतीय बहराइच जिल्ला प्रशासनबीच समन्वय गरी बिहीवार राति नेपाल प्रवेश गराइएको हो ।

सीमा नाका आसपास अलपत्र परेका दुवै देशका नागरिकलाई उद्धार गरेर आआफ्ना देशमा जान दिने सहमतिअनुसार भारतबाट ६८७ नेपाल आएका थिए भने नेपालबाट करीब एक हजार चार सय भारतीयलाई भारत पठाइएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्