Logo

बाली लगाउनुअघि नै नाफा सुनिश्चित गर्ने नीतिबाट किसान हर्षित



काठमाडौँ, ३ जेठ । सरकारले बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने नीति लिँदै कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने घोषणा गरेपछि म्याग्दीका किसान हर्षित भएका छन् ।

सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने उल्लेख भएपछि किसान खुशी भएका हुन् । म्याग्दीको बेनी नगरपालिका–२ खबराका व्यावसायिक कृषक चन्द्रबहादुर कार्कीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम व्यवहारमा लागू भए कुनै पनि कृषक निराश हुन नपर्ने दिन आउने बताएका छन् । अहिलेसम्म सरकारले किसानलाई अनुदान दिने र कृषि उत्पादकत्व बढाउने नाममा तालिम, गोष्ठी र सेमिनारबाहेक अरु केही नगरेको बताउँदै वास्तविक किसानका लागि यसपटक सरकारले राम्रो नीति ल्याएको र व्यवहारमा समेत कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

त्यसैगरी अर्का कृषक शोभित सापकोटाले आगामी १० वर्षमा कृषिको उत्पादकत्व दोब्बर बनाउन आधुनिकीकरण र व्यावसायिक कृषि अभ्यासको योजना ल्याउने सरकारको नीतिले धेरै मानिसको कृषि पेशाप्रति आकर्षण बढ्ने र यो पेशा सम्मानित पेशा हुने बताएका छन् । सापकोटाले भने, “सरकारले कृषि क्षेत्रका लागि निकै राम्रो र समयानुकूल नीति तथा कार्यक्रम ल्याएको छ । यसले सम्पूर्ण किसानको हित गर्ने देखिन्छ ।”

कृषियोग्य भूमिको पूर्ण परिचालन गर्ने, रासायनिक मल र उन्नत जातको बीउको वितरण स्थानीय तहमार्फत गर्ने सरकारको नीति अत्यन्तै उपयुक्त रहेको कृषकले बताएका छन् । सरकारले आधुनिक यन्त्रीकरणमार्फत कृषि उत्पादन बढाउने, स्वदेशी उत्पादन प्रयोगमा जोड दिने, कृषि प्रशोधन केन्द्र खोलेर कृषि उपज निर्यातमा प्रोत्साहन गरिने जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्