Logo

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीवीच फोनवार्ता



३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार साँझ फोनवार्ता भएको छ ।प्राप्त समाचारअनुसार उहाँहरुबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा कुराकानी भएको छ ।

त्यस फोनावार्ताका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत अमेरिकाको एक असल मित्र राष्ट्र भएको बताउनुभएको थियो ।अमेरिकामा राष्ट्रपति ट्रम्पले त्यहाँ रहेका भारतीय अमेरिकीहरुलाई सन्देश दिने क्रममा सो धारणा राख्नुभएको हो । वासिङ्टनमा सम्वाददाताहरुसँग राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच आफ्नो शुक्रबार साँझ नै फोनवार्ता भएको बताउनुभएको थियो ।

त्यसक्रममा राष्ट्रपति ट्रम्पले भारतीय मूलका अमेरिकी नागरिक तथा सम्वाददाताहरुसँग भन्नुभयो– तपाईँहरुका प्रधानमन्त्री नरेन्द्र मोदी मेरा एक असल मित्र हुनुहुन्छ, हाम्रो आज मात्र पनि कुराकानी भएको थियो ।भारत अमेरिकाको एक असल मित्र राष्ट्र हो– अमेरिकी राष्ट्रपति ट्रम्पले त्यस अवसरमा भन्नुभएको थियो । उहाँले भन्नुभएको थियो– हामी दुवै देश यतिखेर कोभिडको महामारीका विरुद्धमा लडिरहेका छौँ र हामीले यस महामारीविरुद्धमा विजय प्राप्त गर्नका लागि एक आपसमा सद्भाव र शुभकामना पनि साटासाट गरेका छौँ ।

अमेरिकाले भारतसँग निकै नजकिको सम्बन्ध कायम गरेर सहमति र सहकार्य गरिरहेको पनि उहाँले जानकारी दिनुभएको समाचारमा बताइएको छ ।राष्ट्रपति ट्रम्पले त्यस अवसरमा अमेरिकामा ठूलो संख्यामा भारतीय नागरिकहरु बसिरहेको र उनीहरु र अमेरिकी नागरिकबीच असल सम्बन्ध पनि रहेको बताउनुभएको थियो ।

उहाँले कोभिडका विरुद्धमा पनि अमेरिका र भारतले आपसमा मिलेर सहकार्यका साथ काम गरिरहेको भन्दै यस महामारीका विरुद्धमा भारतीय र अमेरिकी वैज्ञानिकहरु मिलेर खोप पत्ता लगाउने कार्यमा पनि लागिपरेको जानकारी गराउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्प यसैवर्षको फेबु्रअरीमा आफ्ना परिवारसहित भारतको भ्रमणमा आउनुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गत वर्ष अमेरिकाको भ्रमण गर्नुभएको थियो ।कोभिड १९ को महामारी सुरु भएपछि पनि भारतले अमेरिकालाई केही औषधीहरु सहयोग गरेको थियो । त्यस सहयोगले पनि अमेरिका र भारतबीचको सम्बन्ध एक आपसमा सुमधुर बनाएको बताइएको छ ।

यता भारत पनि पछिल्ला केही हप्तामा कोभिडको महारमारीको चपेटामा परेको छ । यहाँ आजसम्म ८५ हजार ९४० जना संक्रमित भएका छन् । त्यहाँ २ हजार ७०० भन्दा बढीको ज्यान गएको बताइएको छ ।उता अमेरिका यो महामरीबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ज्यान जाने नागरिकको संख्या ८८ हजार ५०७ जना पुगेका छन् ।

त्यसैगरी अमेरिकामा मात्र संक्रमणमा पर्ने नागरिकको संख्या १४ लाख ८४ हजार २८५ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । त्यसैगरी विश्वमा यस संक्रमणबाट ज्यान जानेको संख्या ३ लाख ८ हजार ६७६ जना रहेको छ । त्यसैगरी यस संक्रमणका पूरै संक्रमितको संख्या भने ४६ लाख २९ हजार ४०७ जना पुगेको प्राप्त पछिल्लो समाचारमा बताइएको छ ।-रासस, File photo



प्रतिक्रिया दिनुहोस्